बैतडी : दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५ वटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ ।
मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौँ, वीरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा आयुर्वेद पढाउन थालिएको हो ।
यो वर्ष आयुर्वेद पढाउन पाँचवटा विद्यालय छनोट गरिएका र ती विद्यालयका विद्यार्थीलाई आयुर्वेदको महत्वका बारेमा जानकारी दिने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए ।
उनले भने, “कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई जडीबुटी र तिनीहरूको प्रयोगका बारेमा जानकारी दिने गरिन्छ । स्थानीयस्तरमा पाइने जडीबुटीको संरक्षणबारे पनि बालबालिकालाई प्रशिक्षण दिने गरिएको छ ।”
यसअघि पाँचवटै विद्यालय आयुर्वेद तथा योगका शिक्षकलाई तालिम दिइएको थियो । उनीहरूबाट ती विद्यालयमा आयुर्वेद र योगका नियमित कक्षा सञ्चालन हुँदै आएका छन् ।
विद्यालयमा आयुर्वेद तथा योग शिक्षाअन्तर्गत बालबालिकालाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ । यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।
योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीलाई आयुर्वेद कार्यक्रममार्फत जानकारी दिने गरिएको आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले बताए । विद्यार्थीलाई योग शिक्षाको महत्वका विषयमा जानकारी गराइएको छ । उनले भने, “योग र आयुर्वेद शिक्षा अन्य विद्यालयमा विस्तार गर्नसके योगका बारेमा प्रचारप्रसार हुनेछ । ”
आयुर्वेदिक औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा ज्ञान दिन विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए ।