बर्दिया : बर्दियाको मधुवनमा बृहत् विद्यालय सुरक्षा कार्यविधि तथा कार्ययोजना निर्माणका लागि कार्यशालाको आयोजना गरिएको छ । पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशालामा परियोजना सञ्चालन भएका गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विपद् फोकल शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी २८ जनाको सहभागिता रहेको थियो ।
कार्यशालामा विपद् सम्बन्धी कानुनी नीतिगत र संस्थागत व्यवस्था, विपद्का चक्र समस्या समाधानका उपाय, मौसमी प्रकोप पात्रो, विपद्मा विद्यालय व्यवस्थापन समिति र शिक्षकको भूमिका, विपद् व्यवस्थापन न्यूनीकरण र उत्थानशिलता योजना, बृहत् विद्यालय सुरक्षा कार्यविधि २०७५ का बारेमा जानकारी दिँदै विद्यालयको प्रकोप, संकटासन्नता तथा क्षमताको संरचनात्मक लेखाजोखा गरिएको थियो ।
३ दिनसम्म मधुवन १ पथ्थरबोझीस्थित एक होटलमा संचालन भएको कार्यशालाको सहजीकरण मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले गरेका थिए ।