२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

मदरसा शिक्षालाई व्यवस्थित बनाउँदै धार्मिक तथा आधुनिक शिक्षाको विस्तार गर्न आह्वान

Nada
इसत्याक अहमद
२०८३ कार्तिक ४ गते ०९:१४
Shares
मदरसा शिक्षालाई व्यवस्थित बनाउँदै धार्मिक तथा आधुनिक शिक्षाको विस्तार गर्न आह्वान

मोरङ : जमियत उलेमा-ए-नेपाल र नेपाल मदरसा संघको एकदिने बैठकमा मदरसाको शैक्षिक पाठ्यक्रम सुधार, संस्थागत विकास तथा नेपाली इस्लामिक मदरसाहरूले सामना गरिरहेका चुनौती र समस्याबारे छलफल भएको छ।

ncell

बैठकमा राष्ट्रिय सभा सदस्य तथा जमियत उलेमा-ए-नेपालका अध्यक्ष मौलाना खालिद सिद्दिकी साहब, युवा राजनीतिक नेता महताब आलम साहब, जेनजी आन्दोलनका विद्यार्थी अभियन्ता जमशेद भाइ, मदरसा तालीमुल कुरआन बलुवाहीका महासचिव अब्दुस्सुब्हान नदवी, फातिमा जहरा लिल्बनातका संस्थापक तथा प्रमुख महबुब आलम नदवी र मौलाना अब्दुस्समद साहबलगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

बैठकको मुख्य उद्देश्य मदरसाको शैक्षिक पाठ्यक्रमलाई प्रभावकारी बनाउनु, विद्यमान समस्या पहिचान गरी समाधान खोज्नु तथा मदरसा शिक्षालाई अझ गुणस्तरीय, व्यवस्थित र समयानुकूल बनाउनु रहेको छ। यसै सन्दर्भमा अतहर जमिल नदवीले यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमप्रति आफ्नो विशेष लगाव रहेको उल्लेख गर्दै बाहिर रहेर पनि यस्ता गतिविधिसँग जोडिने प्रयास गरिरहेको बताएका छन्।

उनले कुनै पनि समुदायको विकास र समृद्धिका लागि शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै धार्मिक शिक्षासँगै आधुनिक शिक्षालाई पनि समान महत्त्व दिनुपर्नेमा जोड दिएका छन्।

मदरसा र आधुनिक शैक्षिक संस्थाहरूमा समुदायको सहभागिता तथा प्रतिनिधित्व बढाउन आवश्यक रहेको उनको भनाइ छ। नदवीले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई हरेक परिस्थितिमा शिक्षित बनाउन आग्रह गर्दै आजको समयमा शिक्षा हासिल गर्ने अवसर पहिलेभन्दा सहज हुँदै गएको बताए।

यसका लागि सोच र मानसिकतामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने उनको धारणा छ। उनले शिक्षा क्षेत्रमा कुनै पनि प्रकारको कठिनाइ सामना गरिरहेका व्यक्ति तथा परिवारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनका अनुसार, धार्मिक पहिचान र मूल्यलाई जोगाउँदै आधुनिक शिक्षामा पनि अघि बढ्नु नै समुदायको उज्ज्वल भविष्य निर्माण गर्ने महत्त्वपूर्ण आधार हो। त्यसैले मदरसा शिक्षाको सुधार, आधुनिक शिक्षाको विस्तार र नयाँ पुस्तालाई गुणस्तरीय शिक्षासँग जोड्ने विषयमा सबै पक्षले गम्भीरतापूर्वक पहल गर्न आवश्यक रहेको मौलाना सुबाहन नदवीले बताए ।

uae

सम्बन्धित खबर