
इनरुवा, सुनसरी : मदरसा संघ नेपालको एकदिने परामर्श बैठक शनिबार सुनसरी जिल्लाको इनरुवास्थित मदरसा हिदायतुल इस्लामको परिसरमा रहेको मस्जिदमा सम्पन्न भएको छ।
बैठकले मदरसाका समस्या समाधान, शैक्षिक विकास, संगठनको सुदृढीकरण तथा आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकको अध्यक्षता मौलाना मोहम्मद हारुन खान मजहरीले गरेका थिए भने सञ्चालन मदरसा संघ नेपालका अध्यक्ष मौलाना कारी मोहम्मद हनिफ नदवीले गरेका थिए ।
मदरसा हिदायतुल इस्लाम, इनरुवाका प्रमुख मौलाना मुहम्मद अय्युब खान नदवीले अतिथि तथा उपस्थित उलेमाहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको सुरुवात पवित्र कुरआनको तिलावत र नात-ए-पाकबाट गरिएको थियो।
बैठकमा मदरसा संघ नेपालले हालसम्म गरेका गतिविधि, कार्यसम्पादन तथा उपलब्धिहरूको समीक्षा गरिएको थियो। छलफलपछि आगामी नोभेम्बर महिनाको तेस्रो सातामा काठमाडौंमा मदरसा सम्मेलन आयोजना गर्ने सर्वसम्मत निर्णय गरिएको छ।
उक्त सम्मेलनमा मदरसाहरूले भोगिरहेका समस्या, चुनौती तथा शैक्षिक विकासका सम्भावनाबारे विस्तृत छलफल गरिनेछ। साथै, सम्बन्धित सरकारी निकायका अधिकारीहरूलाई समेत आमन्त्रण गरिनेछ। सम्मेलनको अन्तिम मिति आपसी परामर्शपछि सार्वजनिक गरिने जनाइएको छ।
बैठकले हालसम्म मदरसा संघ नेपालमा आबद्ध नभएका मदरसाहरूलाई शीघ्र आबद्ध हुन आग्रह गर्ने निर्णय गरेको छ।
त्यस्तै, संघका पदाधिकारी तथा सदस्यहरूबीच कार्यसम्पादनको समीक्षा र भावी योजनाबारे छलफल गर्न प्रत्येक महिना नियमित बैठक सञ्चालन गरिनेछ।
त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रले माग गरेका प्रस्ताव तथा समर्थनपत्र आवश्यक प्रक्रिया पूरा गरी भक्तपुरस्थित केन्द्रमा बुझाउने निर्णय गरिएको छ। संघलाई आर्थिक रूपमा सबल बनाउन आबद्ध मदरसाहरूबाट सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरिनेछ।
बैठकले सुनसरी जिल्लाका प्रतिनिधिका सहयोगीका रूपमा मौलाना फारुक नदवी तथा स्थायी प्रतिनिधिका रूपमा मौलाना डा. अब्दुल्लाह नदवी मक्की र मौलाना मुहम्मद सैफुद्दीन नदवीलाई चयन गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जमियत उलेमा-ए-नेपालका अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य मौलाना मुफ्ती मुहम्मद खालिद सिद्दिकी सहभागी हुनुहुन्थ्यो। उहाँले समसामयिक परिस्थिति र समाजप्रति उलेमाहरूको जिम्मेवारीका विषयमा मन्तव्य व्यक्त गरेका थिए।
बैठकमा मोरङ, सप्तरी, रौतहट, झापा, पर्सा, बारा, चितवन, सिरहा र सुनसरीलगायत विभिन्न जिल्लाबाट आएका उलेमाहरू तथा मदरसा हिदायतुल इस्लामका शिक्षकहरूको सहभागिता रहेको थियो। समापनका क्रममा कार्यक्रमका अध्यक्ष मौलाना मुहम्मद हारुन खान मजहरीले उपस्थित अतिथि, उलेमा तथा सहभागीहरूप्रति आभार व्यक्त गरे। अन्त्यमा दुआसँगै बैठक सम्पन्न भएको थियो।
मदरसा संघ नेपालको यस बैठकलाई मदरसाहरूको शैक्षिक विकास, संगठनात्मक सुदृढीकरण तथा सरकारी निकायहरूसँग समन्वय बढाउने दिशामा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। बैठकबाट पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुन सके मदरसाहरूका समस्या समाधान गर्न तथा धार्मिक शिक्षाको विकास र विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।