वीरगन्ज : वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले १४० जना हाजीहरूलाई बिदाइ गरेका छन् । हजका लागि प्रस्थान गर्ने मुस्लिम हज यात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर उनले फूलमाला र गमछा लगाई बिदाइ गरेका हुन् ।
मुस्लिम धर्मावलम्बीहरूसँग भेट गरी शुभकामना व्यक्त गर्दै उनले पवित्र हज यात्रा सफल, सुरक्षित र फलदायी होस् भन्ने कामना गरे । उनले समस्त हाजीहरूको अल्लह रबुलइजतले हज कबुल गरून् भन्ने प्राथनासमेत गरेका छन् ।
नेपाली मुस्लिम दाजुभाइ दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफुले आज विमानस्थलमै पुगेर बिदाइ गरेको उपप्रमुख आलमले बताए ।
उनले हजका लागि जाने हाजीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर तिर्थयात्रा, आस्था र मानवताप्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।
व्यक्तिगत रुपमा खादा र मालाले सम्मानपछि हज यात्रीहरूले भावुक हुँदै धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्वीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि करोडौं हजयात्रीहरू जाने गर्छन् ।
देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरूलाई जिल्ला स्तरीय हज कमिटीले सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार मक्का जाने यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्दै आएको छ ।
मुस्लिम समुदायको ४ फर्ज मध्ये हज पनि एक फर्जमा पर्छ । विश्वभरका मुस्लिमहरूले साउदी अरेबियाको मक्का मदिनामा करोडौं संख्यामा हज गर्न जाने गर्छन् । यो वर्ष नेपालबाट १ हजार १७१ जना हाजीहरू हज गर्न मक्का मदिना जाने भएका छन् ।
मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरू आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । उक्त बिदाइ कार्यक्रममा वीरगन्ज महानगर पालिका वडा नं.२ का वडा अध्यक्ष रेयाज मिया, नेपाली कांग्रेस वडा नं.२ का बुथ सभापति फिरोज आलमलगायतको सहभागिता थियो ।