बारा : यातायात व्यवस्था कार्यालय, कलैयाले चालू आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको यो कार्यालयले सेवा सुधारसँगै राजस्व संकलनमा उल्लेखनीय वृद्धि गरेको हो ।
कार्यालय प्रमुख अविन्दर दासका अनुसार सबैभन्दा बढी राजस्व सवारी कर शीर्षकमा संकलन गरिएको छ, जसबाट ३ करोड ८३ लाख ८७ हजार रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, ‘अनुमति पत्र पास (नयाँ)’ बाट १ करोड ७९ लाख ६५ हजार, ‘अनुमति पत्र दर्ता (नयाँ)’ बाट ८३ लाख ७६ हजार र ‘पटके’ शीर्षकबाट ३९ लाख ९२ हजार ४० रुपैयाँ संकलन भएको हो ।
यसबाहेक, ‘दर्ता (थप)’ शीर्षकमा ३३ लाख ६२ हजार र ‘नवीकरण’ शीर्षकमा २७ लाख १६ हजार रुपैयाँ संकलन गरिएको छ । अन्य विविध शुल्क, अकर र सेवासम्बन्धी शीर्षकहरूबाट पनि महत्वपूर्ण राजस्व प्राप्त भएको जनाइएको छ ।
राजस्व वृद्धिको प्रमुख कारणबारे बताउँदै प्रमुख दासले भने, “डिजिटल प्रणालीको प्रभावकारी उपयोग, सेवा प्रवाहमा पारदर्शीता र कर्मचारी व्यवस्थापन सुधारले यो उपलब्धि सम्भव भएको हो ।”
माघ ८ गतेदेखि प्रमुखको जिम्मेवारी सम्हालेका दासका अनुसार, पछिल्लो केही महिनायता कार्यालयको मासिक राजस्व औसत ६१ लाख रुपैयाँले बढेको छ । “सेवाग्राहीको सन्तुष्टि र सजिलो सेवा सुनिश्चित गर्न प्रविधि प्रयोग, अनुगमन र जिम्मेवार कार्यशैलीमा जोड दिइएको छ,” उनले बताए ।
सीमावर्ती क्षेत्र कलैयाको यो सुधार प्रशासनिक सक्रियता र संस्थागत सुधारको संकेतको रूपमा लिइएको छ । आगामी दिनहरूमा झनै प्रविधिमैत्री र उत्तरदायी सेवा प्रणालीमार्फत राजस्व संकलन थप बढ्ने अपेक्षा गरिएको छ ।