–कौशलेन्द्र झा
हुन त संसारमा त्यस्तो कुनै समस्या छैन, जसको निदान नहोस् । आधुनिक विश्वमा त झन् कल्पना नगरिएका कुरा पनि सम्भव भइरहेका छन् । तथापि आजको अर्को सत्य के हो भने विश्वमा कुनै त्यस्तो मानिस नहोला, जो समस्याबाट नजेलिएको होस् । कोही तनको, कोही मनको त कोही धनको समस्यामा । यसका कारणहरू विविध होलान् तर, हाम्रो सनातन मान्यताले भन्छ– हरेक समस्याको जड तिमी आफैँभित्र छ र त्यसको निदान पनि तिमी आफैँमा ।
आजको मान्छे बेचैन छ । अशान्त छ । हरेक मान्छे सुखको खोजीमा छ तर, त्यसको बाटो अप्राकृतिक छ । जसले दुःखलाई निम्ता दिइरहेको छ । ‘प्राकृतिक जीवन, अप्राकृतिक जीवनशैली’ दुःखको दृश्चक्रको कारक बनिरहेको छ । हरेक मान्छेको जीवन उसको जन्म, हुर्काइ र संस्कारजनित अवस्थामा निर्भर हुन्छ । भन्नुको अर्थ जन्मदिने आमा, हुर्काउने परिवारिक र सामाजिक परिवेश तथा वृत्तिविकासका ‘मान्यता’ ले सुखको आधार निर्माण गर्छ ।
हामी मनुष्यको संसारिक यात्रा आमाको गर्भबाट सुरु हुन्छ । जन्मपश्चात् हाम्रो हुर्काइसँग परिवार र समाज जोडिन्छ । चेतनाको विकास भएदेखि मृत्युपर्यन्त हामीले बाँचेको वातावरणले नै जीवन कस्तो हुने, संसार र स्वयम्को जीवनमा सुगन्ध फलाउने वा दुर्गन्ध भन्ने कुरा मनुष्यको आफ्नो प्रारब्ध कर्म र वर्तमानको पुरुषार्थमा निर्भर गर्दछ । जीवन निर्माणको मुख्य आधारका रूपमा आमाको गर्भदेखि पाँच वर्षको उमेरलाई लिइन्छ । तथापि, हामीले के भुल्नुहुन्न भने हिलोमा नै कमल फुले झैं जतिसुकै आधार बिग्रे पनि आफू मनुष्य हुनुको अर्थबोध भएदेखि असल संकल्पसहित अगाडि बढेमा परिवर्तन सम्भव छ । प्रकृतिको समीपमा रहेर आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक रोग पत्ता लगाई जराबाट नै ठिक गर्न सकिन्छ । असल कर्मद्वारा जीवनलाई फलाइफुलाई सुख र शान्तिको साथ यो संसारमा आउँदो पिडीलाई पदचाप छोड्न सकिन्छ । यो नै जीवनको सफलता र उद्देश्य हुनपर्ने हो ।
मानव सभ्यताको विकाससँगै मनुष्य जीवनको सफलता र असफलतासँग जोडिएका विविध मान्यता छन् । प्रकृतिको समीपमा रही प्राकृतिक नियम पालना गरी संसारमा निर्लिप्त हुनु मनुष्य यात्राको उपलब्धि हो । प्राकृतिक जीवनको आधार पञ्चतत्व अर्थात् पृथ्वी, जल, अग्नि, वायु र आकाश नै हो । यिनै तत्वले मनुष्यको शरीर पनि बनेको छ । पछिल्लो समय यही आधारमाथि आक्रमण भइरहेको छ । विकासका नाममा प्राकृतिक अस्तित्व र मानव सहअस्तित्वको सत्यतालाई स्वीकार नगरी मनुष्यमात्रको क्षणीक सुबिधा भोगका लागि विनास निम्त्याउन थालिएको छ । औद्योगिक क्रान्ति र हरित क्रान्तिको नाममा उल्टै ब्रह्माण्डलाई दूषित गर्ने काम भइरहेको छ ।
सोही क्रान्तिका नाममा प्राकृतिक खाद्यलाई जेनेटिकल्ली मोडिफाइड ओर्गानिजम् गरी सबै अन्नलाई अखाद्य वा स्वस्थ्य प्रतिकुल बनाउने काम भइरहेको छ । त्यसैको परिणाम हुन् थरिथरिका शारीरिक समस्या र रोगहरू । जुन देश यसको सहारामा आर्थिक र वैज्ञानिक रूपले सम्पन्न र विकशित भनिएका छन्, त्यहाँकै मानिस त्यत्ति नै शारीरिक, मानसिक र आत्मिक रूपले विनाशोन्मुख छन् । त्यसको एउटा मात्रै उदाहरण हेरौँः ‘ह्वाइट रिभोलुसन’ र गाईलाई धेरै दुध दिने बनाउने नाममा अप्राकृतिक रूपमा क्रस गराएर ‘वर्णशंकर’ गरिएको छ । यसको नाम उन्नत जात भनिएको छ तर, त्यसले दिने दुधले मानव स्वास्थ्यमा पारिरहेको असर कति छ भन्ने कुरा हामीले अनदेखा गरिरहेका छौं । अध्ययनहरूले नै भनिरहेका छन्, त्यस्तो दुध खानु मानिसको स्वास्थ्यका लागि हानिकारक छ । क्यान्सरलगायत रोगलाई निम्त्याउने काम भइरहेको छ । क्षणिक सुख र छिटो प्रगति गर्ने नाममा प्रकृतिमाथि अप्राकृतिक व्यवहारहरू हाबी भइरहेका छन् । त्यसका परिणाम तपाईं हाम्रै परिवार र हामी बाँचिरहेको समाजमा देखिएकै छन् ।
अहिलेका समस्या समाधानका लागि प्राकृतिक जीवनशैली अपनाउनुको विकल्प छैन । यसका लागि पृथ्वी, जल, अग्नि, वायु र आकाश स्वच्छ र जिवित रहन आवश्यक छ । यसका लागि प्रकृतितर्फ फर्कनुको विकल्प छैन । सनातन मान्यता अनुशरणबिना स्वस्थ व्यक्ति, परिवार र समाज सम्भव छैन । यसको सरल उपाय हाम्रो परम्परागत रहनसहन, खेती प्रणाली र गौ आधारित संस्कृति नै हो । यो संस्कृतिले माटो छुन र त्यसलाई स्वस्थ्य राख्न सिकाउँछ । त्योसँग स्वच्छ हावा, पानी, अग्नी र अन्न जोडिन्छ । यससँग स्वस्थ शरीर, आत्मिक सुख, आर्थिक समुन्नति र पारिवारिक शान्ति जोडिएको छ । जुनकुरा हामी वैदिक सनातनीहरूको सबैभन्दा ठूलो सम्पत्ति हो । विडम्बना यसैमाथि आक्रमण भइरहेको छ । त्यसले हाम्रो कृषिप्रणाली, व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य संकटग्रस्त छ । घरघरमा समस्या छ । व्यक्ति व्यक्तिमा समस्या छ । पछिल्लो समय डरलाग्दो गरी क्यान्सर र निसन्तान समस्या देखिएको छ । मानसिक स्वास्थ्य, डिप्रेसन भुसको आगो झै फैलिएको छ । त्यसको समाधानका लागि बस्तीबस्तीमा ‘आइभिएफ सेन्टर’ र ‘क्यान्सर अस्पताल’ खोलेर मात्रै हुँदैन । त्यसैले अरु सबै चिजसँग सम्झौता गरौँ तर जीवनसँग सम्झौता नगरौँ ।
पश्चिमाहरूले गौ आधारित हाम्रो संस्कृति आत्मसात् गर्दैछन् । उनीहरू पूर्वीय नश्लको गाई लगेर माटो र पर्यावरण बचाउन जुटेका छन् । प्रकृतिको कोखमा फर्किने प्रयत्न गरिरहेका छन् । हामी भने आफ्नो बहुमूल्य संस्कार र शैली छाडेर सम्पूर्ण रूपमा रोगी र परनिर्भर बन्दैछौँ । सुखको खोजीमा पश्चिमाहरूको नक्कल गर्न आफ्ना मौलिक र सबल पक्ष त्याग्न अभिशप्त छौँ । संसारको सबैभन्दा भाग्यशाली, प्राकृतिक र देवस्थल हिमालयको काखमा भएर पनि मृगतृष्णामा विदेश भौतारिरहेका छौँ । अहिलेको पुस्ताले देवालय, शिवभूमी, जनक, बुद्धजस्ता महाज्ञानीको देवस्थल भनेर त महत्व नबुझ्लान् तर जीवनको महत्व बुझ्न प्रकृतिभन्दा अर्को विकल्प छैन । त्यसको उत्तम गन्तव्य शिवालय र हिमालयको देश नेपालभन्दा अर्को हुनसक्दैन । पैसा र सम्पत्ति जति भए पनि आनन्द र शान्तिविहीन जीवनको कुनै अर्थ छैन । यो कुरा बुझ्न अब धेरै समय बाँकी छैन ।
(चार्टर्ड एकाउन्टेन्ट झा, जनकधामको संस्थापक हुन् ।)