२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गर्न खोज्यो : रेडक्रस

ADV
लेखनाथ सिकारु
२०८१ असार २६ गते २२:१५
परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गर्न खोज्यो : रेडक्रस

काठमाडौं : समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै नेपाल रेडक्रस सोसाइटीले आपत्ति जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएका हुन् । 

समाज कल्याण परिषद्को हवाला दिँदै अनियमितता भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आफूहरूले पनि त्यसको स्पष्टीकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष नेपालले जानकारी दिए ।

उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफलसमेत नगरी रेडक्रसको छानबिन प्रतिवेदनको नाममा मिडियाहरूमा सार्वजनिक गरेको साथै कन्फ्लिट अफ इन्टे«ष्ट समेत ख्याल नगरी  विज्ञको नाममा पहिला रेडक्रसमा काम गरेका व्यक्तिलाई नियुक्ती गरी दुरासययुक्त काम गरेको भन्दै आक्रोश व्यक्त गरे । 

अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले यसमा राजनीति घुसाउन नदिने बताए । ‘हामी पारदर्शी छौं । हामीमा कुनै पनि किसिमको कपट छैन,’ अध्यक्ष नेपालले भने, ‘कसैलाई पनि हामी ईष्याको भावनाले हेर्दैनौ । त्यसैकारण हामीले भन्ने गरेका छौं । पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’

समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भएपनि उसले छलफलसमेत नगरी छानबिनको नाममा त्यस्ता काल्पनिक खालका मिथ्या र झुट समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारण गराएको आरोप लगाए । नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य संगठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको भन्दै राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसंक्रमण परीक्षण, उपकरणको मर्मत सम्भार र फोहोर व्यवस्थापनका मापदण्ड पालना गरिएको बताए  । 

महामन्त्री श्रेष्ठले ७ प्रदेश, ७७ जिल्ला, १६ सय उपशाखा, ६ हजार बढी सर्कल र १२ लाख बढी स्वयं सेवकमार्फत बाढी, पहिरो, डुबान लगायतका विपदमा खोज, उद्धार र राहत वितरणका काममा रेडक्रसका स्वयंसेवीहरू परिचालन गरिएको र समुदायको जीवन रक्षाका लागि खटिरहेको बताए ।

उनले  मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको प्रति आपत्ति जनाउँदै  केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गरे । 

वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र भएको उनको भनाइ छ । ‘नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन् । छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ’ जारी विज्ञप्तिमा भनिएको छ । केही दिन यता रेडक्रसमा भ्रष्टाचार र अनियमितता भएको समाचार आएपछि पत्रकार सम्मेलन गरी विज्ञप्ति मार्फत सो को खण्डन गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise