२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

पर्सामा सप्ताहव्यापी ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

महमद सदाब
२०८२ जेठ २८ गते ११:५३
पर्सामा सप्ताहव्यापी ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

वीरगञ्ज : पर्सामा ट्राफिक नियमको पालना र सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह सम्पन्न गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको आयोजनामा जेठ २२ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आज विशेष समारोहका साथ सम्पन्न भएको हो ।

सप्ताह अवधिभर ट्राफिक प्रहरीले वीरगञ्ज महानगरको चोक–चोक र विद्यालय–विद्यालयमा पुगेर ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको थियो । ट्राफिक सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया, पर्चा तथा पोस्टर वितरण, हेल्मेट वितरण, सवारी साधन चेकजाँचजस्ता कार्यक्रममार्फत आम नागरिकमा सडक सुरक्षाप्रति चेतना फैलाउने प्रयास गरिएको थियो ।

समापन समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले ट्राफिक नियमबारे जनचेतना दिन एक दिनको कार्यक्रम पर्याप्त नरहेको भन्दै वर्षभर निरन्तर अभियान चलाउन आवश्यक रहेको धारणा राखे । “ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र होइन,” नगरप्रमुख सिंहले भने, “सामूहिक रूपमा नियम पालनाको संस्कृति बसाल्न सके मात्र दुर्घटना न्यूनीकरण सम्भव हुन्छ ।”

उपप्रमुख इम्तियाज आलमले शहरी मात्र नभइ ग्रामीण क्षेत्रमा पनि ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिए । उनले जनचेतनामूलक यस्ता कार्यक्रमको पहुँच बस्ती–बस्तीसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा दैनिक औसत सात जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक उल्लेख गर्दै कडाइका साथ नियम पालना गरिनुपर्ने बताए । उनले सवारी दुर्घटनामा परेर अकालमै ज्यान गुमाउनेको संख्या बढेकाले सरोकारवाला निकायबीच समन्वय गरेर दुर्घटना न्यूनीकरणतर्फ अघि बढ्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले ट्राफिक प्रहरीसँग पूर्वाधारको कमी रहेको भन्दै आवश्यक संरचनाको अभावमा कार्यान्वयनमा चुनौती आएको बताए। “सडकमा बत्ती, संकेत बोर्ड, जेब्राक्रस जस्ता संरचना आवश्यक छन्,” उनले भने, “स्थानीय तहले यस्ता पूर्वाधारको व्यवस्था गरिदिएमा ट्राफिक व्यवस्थापन अझ प्रभावकारी हुन्छ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले एक सातासम्म सञ्चालन गरिएको ट्राफिक सप्ताहअन्तर्गत पर्साका प्रमुख चोकहरूमा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा यातायात व्यवसायी प्रतिनिधि जगतसाह कानुले यस्ता रचनात्मक अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । त्यस्तै, विद्यार्थीहरूको उल्लेखनीय सहभागिता र सञ्चारकर्मीहरूको सक्रियता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मद्दत पुगेको आयोजकको भनाइ छ ।

सप्ताह सम्पन्न भएसँगै जिल्लामा सडक सुरक्षाको सवालमा सामूहिक पहल र दीर्घकालीन योजना आवश्यक रहेको धारणा कार्यक्रम सहभागीहरूले राखेका छन् ।

ADV

सम्बन्धित खबर