२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

Nada
महमद सदाब
२०८२ असार ९ गते १७:२१
Shares
वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको १७औं नगरसभा सोमबार सम्पन्न भएको छ । अधिवेशनमा उप–प्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

ncell

बजेट विवरण अनुसार कुल बजेटमध्ये दुई अर्ब २६ करोड ५० लाख ४९ हजार रुपैयाँ (७०.२४ प्रतिशत) चालु खर्चका लागि छुट्याइएको छ । यस्तै, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख रुपैयाँ (२८.६४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रुपैयाँ (१.१२ प्रतिशत) विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षको तुलनामा महानगरले झन्डै ३३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

बजेट प्रस्तुत गर्दै उप–प्रमुख आलमले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण र डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरूमा एक अर्ब १५ करोड रुपैयाँ आन्तरिक राजस्वबाट, एक अर्ब ३७ करोड ३० लाख रुपैयाँ संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट, २३ करोड ७८ लाख रुपैयाँ संघीय राजस्व बाँडफाँटबाट, पाँच करोड आठ लाख रुपैयाँ प्रदेश सरकारको अन्तरसरकारी हस्तान्तरणबाट, एक करोड ६७ लाख १३ हजार रुपैयाँ प्रदेश राजस्व बाँडफाँटबाट, २५ करोड रुपैयाँ घरजग्गा रजिष्ट्रेशन शुल्कबाट तथा १५ करोड रुपैयाँ नगद मौज्दातबाट संकलन गरिने उल्लेख छ ।

नगरसभामा बजेट प्रस्तुत गर्नुअघि नगरप्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । नगरप्रमुख सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

ताजा खबर

सम्बन्धित खबर