रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर दुई जना बालबालिकाको ज्यान गएको छ ।
मंगलबार राति करिब पौने ८ बजे हृदय पासवानको घरको शौचालयको सेफ्टी ट्यांकीमा खेल्ने क्रममा छिमेकी गमिरा साहका १ वर्षे छोरा रन्जे साह र जगदिश साहकी १ वर्षीया छोरी खुश्बु साह खसेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुबै बालबालिका शौचालयको सेफ्टी ट्यांकी माथि प्लाइले मात्रै ढाकिएको स्थानमा खेलिरहेका बेला खसेका हुन् ।
घटनापछि गम्भीर घाइते उनीहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि चन्द्रपुरस्थित सरकारी अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले दुबै जनाको निधन भएको पुष्टि गरेका थिए ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेशकुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दीपककुमार रायले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।