२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

कांग्रेस अर्घाखाँचीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार १४ गते २०:३९
कांग्रेस अर्घाखाँचीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा पूर्व मन्त्री तथा पार्टीका वरिष्ठ नेता ढुण्डिराज शास्त्रीको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेता शास्त्रीको असार २ गते काठमाडौंस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनी कांग्रेस पार्टीभित्र निष्ठावान, समाजशास्त्रका चिन्तक र कर्तव्यनिष्ठ नेताका रूपमा चिनिन्थे । 

श्रद्धाञ्जली सभामा कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ ले नेता शास्त्रीको निधन कांग्रेस पार्टीका लागि ठूलो क्षति भएको बताए । उनले शास्त्रीलाई राष्ट्रप्रति समर्पित नेताको रूपमा स्मरण गर्दै, शान्ति प्रक्रियामा शास्त्रीले भारतमा बसेर पुर्‍याएको योगदान उल्लेख गरे । 

पूर्वसभापति कमलप्रसाद भुसालले शास्त्रीलाई अर्घाखाँची जिल्लाको विकास निर्माणमा योगदान पुर्‍याउने योजनाकारको रूपमा वर्णन गरे । शास्त्रीको जन्म १९९३ सालमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–८, निमडाँडामा भएको हो । उनका बुवा खेमराज पौडेल र आमा सावित्रा पौडेल हुन् । 

नेता शास्त्री २०१० सालमा बनारसमा अध्ययनका क्रममा नेपाली कांग्रेससँग आबद्ध भइ राजनीतिक आन्दोलनमा होमिएका थिए । २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सहभागी भइ पाल्पाको तानसेनमा भाग लिएका उनी, भूमिगत राजनीतिक गतिविधिमा समेत सक्रिय थिए । कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले शास्त्रीलाई जिल्लाको ब्रान्ड नेताका रूपमा सम्झिए ।

लुम्बिनी प्रदेशकी कांग्रेस सदस्य शान्ता भण्डारीले नेता शास्त्रीले मन्त्री हुँदा धेरैलाई रोजगारीमा जोडेको स्मरण गर्दै पार्टीलाई गहिरो क्षति पुगेको बताइन् । २०१५ सालको आम निर्वाचनदेखि सक्रिय राजनीति गर्दै आएका शास्त्रीले २०१७ सालमा राजा महेन्द्रद्वारा संसद् भंग गरिएपछि गुल्मी, अर्घाखाँचीका युवाहरूलाई क्रान्तिमा सक्रिय गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेता श्यामनाथ काश्यपले शास्त्रीलाई बी.पी. कोईरालाका अनुयायी, समाजवादका व्याख्याता र कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहका सहयात्रीका रूपमा स्मरण गरे। पूर्व सचिव छबिलाल पौडेलले शास्त्रीको योगदान अर्घाखाँची, गुल्मी, पाल्पा र रुपन्देही लगायतका जिल्लामा पार्टी संगठन विस्तारमा उल्लेखनीय रहेको बताए । कांग्रेस नेता हेमन्त बेल्वासेले जनआन्दोलन २०३६ र २०४६ मा पनि शास्त्रीले नेतृत्वदायी भूमिका खेलेको तथा युवाहरुलाई पार्टीमा आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

२०४८ र २०५१ सालको संसदीय निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट भारी मतले विजयी भएका शास्त्री दुईपटक उद्योग तथा श्रम मन्त्री समेत बनेका थिए । श्रद्धाञ्जली सभामा शास्त्रीप्रति श्रद्धा प्रकट गर्दै विभिन्न नेताहरूले उनको योगदानको उच्च प्रशंसा गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise