काठमाडौं : प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले नेपाल सरकारले नागरिकहरूलाई दिनुपर्ने सेवा मारवाडी समाजले गर्दै आएको बताएका छन् ।
मारवाडी सेवा समिति नेपाल अन्तर्गत रहेको पशुपति गौशाला धर्मशालाद्वारा आयोजना गरेको निःशुल्क रुपमा कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विभिन्न कारणबस खुट्टा गमाएका विभिन्न परिवारलाई कृत्रिम खुट्टा निःशुल्क रूपमा उपलब्ध गराउनु, मिर्गौला पीडित बिरामीहरूलाई निःशुल्क डायलासिस सेवा दिनु एकदमै सरानीय काम भएको बताएका थिए ।
गौशाला धर्मशालामा संरक्षित गाईहरुलाई आमाको संज्ञा दिँदै उनले भने, ‘गाईको सेवा गर्नु भनेको आमाको सेवा गरे बराबर हो ।’
मारवाडी सेवा समितिले मानवीय सेवामा धेरै ठूलो योगदान गर्दै आएको बताउँदै उनले यस्ता किसिमका सेवा कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडियाको अध्यक्षतामा शनिबार गौशाला धर्मशालामा विभिन्न कारणवस खुट्टा गुमाएका पाँचजना अपाङ्ग व्यक्तिहरूलाई सातवटा कृत्रिम खुट्टाहरू निःशुल्क रुपमा वितरण गरिएको थियो ।
समितिले प्रकाश नेपाली र राजन श्रेष्ठको दुवै खुट्टाको घुँडा तल, मिना राईको बाँया खुट्टा घुँडा तल, अंतिमा कुमारी यादवको बाँया खुट्टा घुँडा माथीको निःशुल्क रूपमा कृत्रिम खुट्टा प्रदान गरिएको थियो ।
त्यस्तै यादव तोलाङ्गको दाँया खुट्टा घुँडा तल पैताला बदली मर्मत गरी निःशुल्क रुपमा कृत्रिम खुट्टा प्रदान गरिएको थियो ।
नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका अध्यक्ष निर्मला जोशी र समाजसेवी तथा उद्योग व्यवसायी वेणीगोपाल मुण्धडाको विशेष आतिथ्यता भएको कार्यक्रममा मारवाडी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयल, उपाध्यक्ष पवनकुमार अग्रवाल, गौशाला धर्मशालाका कोषाध्यक्ष आनन्दकुमार अग्रवाल, सह–कोषाध्यक्ष सिए दिपककुमार अग्रवाल, कार्यसमिति सदस्य एवं कृत्रिम खुट्टा कार्यशालाका सह–संयोजक विनोद गोयल लगायतको सहभागी रहेको थियो ।
मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोदकुमार अग्रवाल(चौधरी) को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण गौशाला धर्मशालाका महासचिव राजेशकुमार अग्रवालले गरेका थिए ।