२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

एसईईमा मकवानपुरबाट ४६.८६ प्रतिशत मात्रै सफल

shivam cement
राजकुमार के.सी.
२०८२ असार १५ गते २१:४१
एसईईमा मकवानपुरबाट ४६.८६ प्रतिशत मात्रै सफल

मकवानपुर : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मकवानपुर जिल्लाबाट सहभागी ५ हजार ८ सय ८७ जना विद्यार्थीमध्ये ४६.८६ प्रतिशत मात्र सफल भएका छन् । कक्षा ११ अध्ययन गर्न पाउने (ग्रेडेड) विद्यार्थी संख्या २ हजार ७ सय ५९ रहेको छ भने ३ हजार १ सय २८ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार जिल्लाका पाँच जना विद्यार्थीले अधिकतम ४ जीपीए प्राप्त गरेका छन् । नवोदय शिशु सदनका विमर्श श्रेष्ठ र अनुषा उप्रेती, बालजागृति इंग्लिस सेकेन्डरी स्कूलकी अनुप्रस्था देवकोटा, बालज्योति माविकी अस्मिता घिमिरे र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सचिन कुमार यादवले ४ जीपीए प्राप्त गरेका हुन् ।

३.६ देखि ४ जीपीए समूहमा ३७८ जना, ३.२ देखि ३.६ जीपीएमा ८०२ जना, २.८ देखि ३.२ जीपीएमा ९८१ जना, २.४ देखि २.८ जीपीएमा ५३९ जना र २.० देखि २.४ जीपीएमा ५४ जना छन् । 

मकवानपुरगढी गाउँपालिकाको शारदा माविबाट सहभागी २५ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकामा समग्रमा ४३.६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । कैलाश गाउँपालिकामा १६१ जना सहभागीमध्ये ४५ जना उत्तीर्ण भएका छन्। गत वर्ष १९९ मध्ये ११ जना मात्र उत्तीर्ण भएका थिए ।

थाहा नगरपालिकाबाट ४९५ जना सहभागीमध्ये २१७ जना उत्तीर्ण भएका छन् । पालुङ मोर्डन इङ्लिस स्कूलका ४ जना सबै उत्तीर्ण भए। संस्थागत विद्यालयहरूमा सबैभन्दा राम्रो प्रदर्शन युनाइटेड बोर्डिङ स्कूलको रह्यो जसबाट ४५ मध्ये ३७ जना उत्तीर्ण भए ।

मनहरी गाउँपालिकामा ४२९ जना सहभागीमध्ये १४२ जना उत्तीर्ण भएका छन् । सीता माविबाट परीक्षा दिएका सबै २० जना विद्यार्थी अनुत्तीर्ण भए ।

बकैया गाउँपालिकामा ४११ जना सहभागीमध्ये ७४ जना मात्रै उत्तीर्ण भए । दुई विद्यालय कालिका र प्रसिद्ध माविबाट एक जना पनि उत्तीर्ण भएनन् । बुद्ध माविबाट ८८ जना सहभागीमध्ये ४ जना मात्रै उत्तीर्ण भए ।

इन्द्रसरोवर गाउँपालिकामा १०५ जना सहभागीमध्ये ३८ जना, बागमती गाउँपालिकामा २७७ जना सहभागीमध्ये ४६ जना र राक्सिराङ गाउँपालिकामा १८६ जना सहभागीमध्ये १२ जना मात्र उत्तीर्ण भएका छन् । राक्सिराङका तीन विद्यालयको नतिजा शून्य छ ।

हेटौँडा उपमहानगरपालिकामा ५८.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सहभागी ३३११ मध्ये २०४५ जना ग्रेडेड भएका छन्। संस्थागत विद्यालयतर्फ चार विद्यालय–बालजागृति, सुनगाभा, जेम्स र मकवानपुर बालविद्या सदन–ले १०० प्रतिशत नतिजा निकालेका छन् ।

सामुदायिक विद्यालयतर्फ आधुनिक राष्ट्रिय माविबाट ३९९ मध्ये २७५, भुटनदेवी माविबाट २४४ मध्ये १५६, प्रगति माविबाट ११९ मध्ये ९६ जना उत्तीर्ण भएका छन् ।

भीमफेदी गाउँपालिकामा १९६ जना सहभागीमध्ये ४६ जना मात्र उत्तीर्ण भएका छन् । सबैभन्दा कम नतिजा ल्याउने विद्यालयहरूमा कोगटे, बाराही र महालक्ष्मी मावि परेका छन् ।

यसपालिको एसईई नतिजाले जिल्लाभरका सामुदायिक विद्यालयहरूको अवस्था चिन्ताजनक रहेको देखाएको छ । ग्रेडबृद्धि परीक्षा साउन २९ गतेदेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise