२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १२:३६
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर : कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उनले बताए ।

धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन् । त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ । सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ ।

वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन् । नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन् । 

भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकालगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ । अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन् । सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन् ।

शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहुँदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताए । “समयमै रासायनिक मल पायौँ,” उनले भने, “अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौं, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ ।”

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उनको भनाइ छ । धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन् । किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशंकर (हाइब्रिड) जातका धान बढी रोप्ने गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise