काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताएका छन् ।
आज अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उनले घरजग्गामा अत्यधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताए ।
उनकाअनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन । बैंकहरुले ठूला उद्योगहरुलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको उनले बताए । महतकाअनुसार कृषि विकास बैंकले हाइड्रोपावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।
महतले भने, ‘घरजग्गामा भएको लगानी ठूलो भएको छ । अब प्रोत्साहन गर्न हुँदैन । उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । जसले घरजग्गामा धेरै लगानी गरेर धेरै नाफा कमाउन खोज्दैछ, अब नोक्शानी व्यहोर्न तयार हुनुपर्यो । मौद्रिक नीति गत समयममा भएका कमीकमजोरीबाट पाठ सिक्न जरुरी छ । साना कर्जा लिनेलाई धेरै ठूलो समस्या रहेको छ ।’
उनकाअनुसार व्यावसायिकरुपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्ने उनले बताए ।