एउटा राम्रो चलचित्र दर्शकसम्म आइपुग्दा धेरैको मेहनत रहेको हुन्छ । हामीले पर्दामा देखिने पात्रलाई मात्र देख्छौं, तर पर्दा पछाडिका पात्रहरूको पनि त्यतिकै मेहनत आवश्यक हुन्छ एउटा सशक्त श्रव्यदृश्य सामग्री हाम्रोसामु आइपुग्दा । सबैको लगन र मेहनतले राम्रो श्रव्यदृश्य सामग्री तयार हुन्छ । यस्तै लामो समयदेखि पर्दापछाडि रहेर आफ्ना क्रियशन मार्फत दर्शकको माया बटुल्न सफल नाम हो मधु पन्थी । उनले कला निर्देशकका रूपमा यस क्षेत्रमा प्रख्याती कमाएका छन् । उनले हालसम्म आउँदा थुप्रै प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भएका छन् । निर्माता, निर्देशक र कलाकारकोे रोजइमा पर्न सफल उनी यस क्षेत्रमा सफल छन् । कमभन्दा कम उपल्बधतामा धेरै उपलब्धी निकाल्न सक्नु पनि एउटा खुबी हो भन्ने मधुसँग मध्यान्ह दैनिकका लागि प्रतिक्षा गौतमले नेपाली कला निर्देशनको क्षेत्रका बारेमा गरेको कुराकानी :
अहिले केमा ब्यस्त हुनुहुन्छ ?
केही आफ्ना व्यक्तिगत कार्यहरू, केही सामाजिक कार्यहरू, चलचित्र क्षेत्रको व्यक्ति भएका कारण यससँग सम्बन्धित विभिन्न कार्यहरू यस्तै यस्तैमा व्यस्त छु भन्नु पर्ला ।
चलचित्र क्षेत्रमा कसरी र किन आउनुभयो ?
मेरो बच्चैदेखि कलाकारिता क्षेत्रमा रुची रहेको थियो । उमेर बढ्दै गएपछि त्यो रुची अझ बढ्दै गयो । नेपालमा पनि व्यावसायिक रूपमा चलचित्र बन्न थाले । यसका लागि मैलै धेरै बुझ्दै गएँ र यो क्षेत्रमा आएँ । यसका बारेमा बुझेर र अध्ययन गरेर यो क्षेत्रमा आएँ । कला निर्देशनको क्षेत्रमा अनुभव संगाल्दै गर्दा मैले २०५१ मा आई.कम.र २०५४ मा शंकरदेव क्याम्पसबाट बी.कम. पूरा गरें । त्यसपछि यही क्षेत्रमा पूरापूर समर्पित भएर लागें ।
तपाईं चलचित्रको एउटा पाटो कला निर्देशनमा हुनुहुन्छ, यो कला निर्देशन भनेको के हो ?
चलचित्रमा कला निर्देशन एक महत्वपूर्ण पाटो हो । चलचित्रमा कथाले मागे अनुसार कहीँ हिमाल, कहीँ पहाड, कहीँ तराई, कहीँ जंगल, कहीँ ठूलो समुद्र, कहीँ मनमोहक दृश्य त कहीँ डरलाग्दो भीर देखाउनुपर्ने हुन्छ । त्यही दृश्य साँच्चिकै जस्तो देखाउने, बनाउने वा तयार गर्ने कला नै मुभिज् आर्ट डाइरेक्शन हो । अर्थात कला निर्देशन हो । नेपालमा त यस्ता कतिपय ठाउँ पाइएला तर विदेशमा पाइँदैन । हाम्रो काम भनेको जस्तो डिजाइनको सिन चाहियो त्यस्तै बनाउने अनि प्रोडुसर डिजाइनलाई जानकारी गराउने हो । त्यसपछि उहाँले त्यो डाइरेक्टरलाई जानकारी गराउनुहुन्छ । आकर्षक सेटहरू जुन तपाईं चलचित्रमा देख्नुहुन्छ नि त्यसको डिजाइन गर्ने काम कला निर्देशकले गर्छ ।
नेपाली चलचित्रमा कला निर्देशन क्षेत्र कत्तिको सहज छ ?
यो कला निर्देशन भन्ने बित्तिकै एकदमै गाह्रो क्षेत्र हो । किनभने कल्पना गरिएको कुरालाई जस्ताको त्यस्तै उतार्नुपर्ने हुन्छ । फेरि कला निर्देशकको काँधमा कल्पनालाई न्याय गर्नुका साथै सामाजिक जिम्मेवारी पनि हुन्छ । मैले निर्माण गरेको चलचित्रबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । चलचित्र सामाजिक दायित्व बोकेको पाटो भएकोले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।
तपाईंले अहिलेसम्म गरेका चलचित्रमा कत्तिको न्याय गरेको छु जस्तो लाग्छ ?
मैले काम गरेका हरेक चलचित्रमा कथा बस्तुलाई पूर्णरुपमा न्याय गर्ने कोसिस गरेको हुन्छु । विविध कारणले कुनै कुनै कुरामा कम्प्रोमाइज गर्नु पर्ने हाम्रो बाध्यता छ । तर पनि पूर्णरुपमा न्याय गर्ने कोसिस गरेको हुन्छु । मैले आफ्नो खुबीले भ्याएसम्म राम्रो दिने कोसि गरेको हुन्छु ।
कतिको कम्प्रोमाइज गर्नुपर्छ ?
कम्प्रोमाइज गर्दा क्षमता देखाउन सकिँदैन । सिनेमाले मागे अनुसार दिन नसक्दा गाह्रो हुन्छ । बाँधिनु पर्छ । भनेजस्तो तरिकाले काम गर्न पाइँदैन । तर, कम भन्दा कम उपलब्धतामा धेरै उपलब्धी निकाल्न सक्नु पनि एउटा खुबी हो । फेरि सत्य के हो भने जति धेरै उपल्बधता हुन्छ त्यही धेरै राम्रो क्रिएशन हुन्छ ।
तपाईं आफैंलाई मन परेको आफ्नो काम ?
मेरो कामलाई धेरैले मन पराएको पाउँछु म । हरेक पल्ट केही नयाँ गर्ने कोसिसमा हुन्छु । पहिलाको प्रोजेक्ट भन्दा केही नयाँ क्रिएशन गरौं भन्ने नै हुन्छ हरेक पल्ट । अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । मैले गेरका चलचित्रमा केहीको नाम लिनुपर्दा दादागिरी, डन, खलनायक, दोस्ती, टक्कर, दुई मुटुको, म छु नि तिम्रो, मेरो पैसा खोइ, जय पशुराम, अ गुड फ्रेण्ड, तिम्रो पर्खाइमा, भगवान् सबैको, आँधीतुफान, अभिमन्युलगायतका रहेका छन् । आफूले गरेका सबै काम मनपर्छ तर पनि अझ राम्रो गर्नुपाए हुन्थ्यो भन्ने जहिले रहन्छ ।
नेपाली चलचित्रमा पर्फेक्ट नायिकामा कस्लाई देख्नु हुन्छ ?
पुरानादेखि लिएर नयाँसम्म धेरै हुनुहुन्छ राम्रो अभिनय गर्ने नायिकामा । तर पनि पर्फेक्ट भन्न गाह्रो प्रश्न हो । मलाई के लाग्छ भने करिश्मा मान्नधर गौरी मल्ल, दिया मास्के पर्फेक्ट लाग्छ । प्रियंका कार्कीलाई अभिनय गर्नकै लागि पठाइएको जस्तो लाग्छ । उनी प्याकेज नै हुन् । यस्तै पछिल्लो समय आएका धेरै नायिकाले राम्रो गरिरहनु भएको छ ।
यहाँ लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ आफैंले हेर्दा यो क्षेत्रको कमजोरीमा के देख्नुहुन्छ ?
मलाई के लाग्छ भने धेरै धैर्यता छैन । हतार हतार गर्न खोजिन्छ । चलचित्र जटील विषय हो तर गम्भिरतापूर्वक नलिएको पाउँछु म । डेडिकेसन छैन । जुन विषयमा काम गरिन्छ कसरी जाने भन्ने छैन । पूर्व प्लानिङ छैन । फिल्डमा गएपछि मात्र गरेको प्लानिङले कहाँ पु¥याउँछ । बिना प्लानिङ काम गर्ने हाम्रो बानी रहेको पाउँछु ।
सफल हुनका लागि के कस्ता कुराहरु आवश्यक देख्नुहुन्छ ?
मुख्य कुरा त विषयवस्तु बलियो हुनुपर्छ । कसरी प्रस्तुतीकरण गर्ने हो भन्ने हुनुपर्छ । कलकारलाई कसरी देखाउने भन्ने हुनुपर्छ । सानो कुरालाई पनि प्रस्तुति कसरी गर्ने भन्ने हुनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies