तेजबहादुर बन/मध्यान्ह
इटहरी : सापटी चलाएको रू ३२ सय समयमै फिर्ता नगर्दा इटहरीमा आफ्नै साथीहरूबाट एक ब्याक्तिमाथि अपहरणको प्रयास भएको छ ।
इटहरी ४का २२ वर्षीय निर्मल श्रेष्ठमाथि अपहरण प्रयास भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मानव अपहरण तथा शरीर बन्धकको अभियोगमा इटहरी ८ फुलबारी टोलबाट ३ जना पक्राउ परेपछि यसतो रहस्य खुलेको हो ।
श्रेष्ठलाई हातमा डोरी र आँखामा पट्टि बाँधेर कुटपिट गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले भेटेपछि संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरीले शुक्रबार दिउँसो इटहरी ८ फुलबारी टोलको प्लटिङबाट पक्राउ गर्न सफल भएको थियो ।
प्रहरीद्वारा पक्राउ पर्नेमा इटहरी ७ बस्ने २५ वर्षीय सङ्गीत थापा, सोही स्थानमा बस्ने १९ वर्षीय अनिष कार्की र इटहरी ८ बस्ने २३ वर्षीय सिद्धार्थ राई रहेका छन् ।
पटक पटक माग्दा पनि भोलि भोलि भन्दै झुलाएपछि रिसको झोकमा निर्मललाई अपहरण गरी परिवारसँग मोटो रकम माग्ने योजनामा रहेको प्रहरी अनुशन्धानबाट खुलेको छ । अपहरणको शैली हेर्दा योजनावद्ध नै देखिएको इटहरी प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले मध्यान्हलाई बताए ।
उनीहरूले निर्मलको अपहरणपछि रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर निर्घात कुटपिट समेत गरेको अनुशन्धानबाट खुलेको छ । कुटपिटबाटै निर्मलको हातको हड्डि समेत भाँचिएको डिएसपी केसीको भनाइ छ ।
रातभर संगित थापाको कोठामा राखि भोलि पल्ट अर्कै स्थानमा सार्न लाग्दा स्थानीयले थहा पाएर प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा हात र आखामा पट्टि बाधेर कुटपिट गर्दै गरेको अवस्थामा रंगेहात तिन जना समातिएको र अनुशन्धान गर्दै जाँदा योजनावद्ध नै अपहरण गर्न खोजिएको पाइएको प्रहरी प्रमुख डिएसपी केसीको भनाइ छ ।
पक्राउ परेका तीनै जनाविरूद्ध पीडितले दिएको अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी सुनसरी अदालतबाट एक हप्ताको म्याद थप गराइ आवश्यक अनुशन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी केसीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies