काठमाडौं : एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पारेका हुन् ।
आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपैयाँको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजार रुपैयाँको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यस्तै, बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पीकका रूपमा एक् लाख रुपैयाँको ब्रान्ड डिल जितेका छन् ।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको हो । ‘देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सम्पन्न भएको हो, एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्णरुपमा विश्वस्त छु’, एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरूलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरूलाई १०÷१० जनाको समूहमा ५ जना मेन्टरहरूमार्फत् विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो ।
सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।