काठमाडौं : नेपाली राजनीतिमा नयाँ कोर्षको अभ्यास गर्दै आएका कांग्रेसका नेता डा.शेखर कोइरालाले पछिल्लो पटक सोही अभ्यास दोहोर्याएका छन् । बिहीबार नेता कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर वर्तमान सरकारको १ वर्षीय कार्यकालको समीक्षात्मक आलोचना गरे ।
पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता प्रचण्ड निवास खुमलटारमा २ नेताबीच करिब २ घन्टा वार्तालाप भएको थियो । छलफलमा सरकारले एक वर्षमा विकृति घटाउनेभन्दा बढाउने काम गरेको निष्कर्ष निकालेका छन् । उनीहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
संसदको प्रमुख विपक्षी दलले सरकारको चर्को विरोध जनाइरहँदा प्रमुख सत्ता सहयात्री दल कांग्रेसका नेता कोइराला पनि सुरूबाटै वर्तमान सरकारको कटु आलोचक बनेर अभिव्यक्ति दिइरहेका थिए । १ वर्ष अघि संसदका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्यपछि सरकार बाहिर पुगेको माओवादीले सुरूकै दिनबाट सरकारको विरोध गर्दै आएको छ । यही अवस्थामा भेटेर कांग्रेसका शीर्ष नेता कोइरालाले विपक्षीहरूको आवाजलाई बल पुर्याएका छन् ।
हुनत उनी यसअघि कांग्रेस–माओवादी सम्मिलित गठबन्धन सरकारको पनि उत्तिकै आलोचक थिए । २०७९ मा कांग्रेसकै मुख्य सहयोगमा माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार गिराउनेमा नेता कोइरालाको भूमिका महत्वपूर्ण रहेको थियो । तत्कालीन अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीचको सहमति अनुसार कोशी प्रदेशमा माओवादीलाई मुख्य मन्त्री भाग लगाएपछि रिसाएका नेता कोइरालाले मुख्यमन्त्रीमा विद्रोही बनाएर सांसद केदार कार्कीलाई एमाले सांसदहरूको सहयोगमा मुख्यमन्त्री बनाउन सफल भएका थिए । त्यसदेखि नै डा. कोइरालाले माओवादीसँगको सत्ता सहकार्य तोडेर एमालेसँग सहकार्य गर्ने कुरामा भूमिका खेलेका थिए ।
यद्यपि उनी अहिले कांग्रेस–एमाले सरकार हुँदा पनि राजनीतिक कोर्ष करेक्सनको बाटोमा लागेको देखिन्छ । जहिल्यै विद्रोही स्वभाव देखाएर राजनीतिक मुभ गर्दै आएका नेता कोइरालाले आफुले एमालेसँग सत्ता सहकार्य गर्न दबाब दिएको भएपनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने बताउँदै आएका थिए । गत पार्टीको बैठकमा समेत उनले सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न दबाब दिएका थिए । ‘हामी सरकारमा छौं’, नेता कोइरालाले भनेका छन् ‘तर सत्तामा छैनौं । हाम्रो प्रतिस्पर्धी दल नेकपा एमाले भएकाले सरकारमा सहभागी मन्त्रीहरूले सरकारको काम गर्ने हो बाहिर भएका नेताहरूले सरकारलाई खबरदारी गर्ने र पार्टी संगठनका कामलाई प्रभावकारी बनाउने हो ।’
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने विषयमा कोइरालाले निरन्तर प्रयास गरेपनि पार्टी सभापति देउवाले तयार नहुँदासम्म एमालेसँगको सहकार्य तोड्ने सम्भावना कम छ । तर कोइराला आफ्नो एजेण्डामा अडिग छन् । ‘कांग्रेसले समर्थन गरेको सरकारले जनताका पक्षमा, सुशासनका पक्षमा र भ्रष्टाचारलाई शुन्य बनाउने गरी काम गर्ने हो’, तर, यो सरकारले जनताका पक्षमा काम गर्न सकेन । मैले माओवादीसँगको सत्ता सहकार्य टुटाएर एमालेसँग सहकार्य गर्ने भनेको एमालेलाई सरकारको जिम्मा लगाउने भनेको थिएन । कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मेरो पहिला पनि धारणा हो र अहिले पनि छ ।’
उनको यो तर्कले पार्टीमा निरन्तर विद्रोही स्वभाव देखाएको नेताहरू बताउँछन् । पार्टी सरकारमा भएपनि सरकारकै विरोध नभई सहयोग गर्नुपर्ने कतिपय नेताहरूको तर्क छ । तर, कोइराला पक्षका नेताहरूले भने सरकारका गतिविधि नागरिकमैत्री नभएकाले त्यसलाई सच्याउन खबरदारी गर्नु आवश्यक भएको बताएका छन् । कोइराला पक्षका नेता डा.गोविन्दराज पोखरेलले सरकारका मन्त्रीहरू गलत बाटो हिँडे भने त्यसलाई सच्याउनका लागि सरकारकै सहयात्री भएपनि स्वस्थ आलोचना गर्नुपर्ने बताउँछन् । ‘नेता कोइरालाले सरकारको हनिमुन पिरियडपछि सरकारलाई निरन्तर घचघच्याउन थाल्नुभएको थियो’, उनले मध्यान्हसँग भने ‘तर सरकारले केही कुरा सुनेन र एक वर्षभित्र काण्डै काण्ड आए । नागरिकप्रति सरकारका कुनैपनि काम सन्तोषजनक देखिएनन् । भिजिट भिसा काण्डदेखि मन्त्रीहरूका घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत सरकार सचेत भएर काम गर्न सकेको छैन् ।’
सरकारका यस्ता गतिविधिका कारण कांग्रेस नेता डा.कोइरालाले विपक्षी दलका नेतासंग संवाद गरेर सरकारलाई दबाब दिन खोजेको उनले जिकिर गरे । प्रचण्डसँगको भेटले सरकार करेक्सन भएर काम गर्न दबाब दिने अपेक्षा रहेको पोखरेलको भनाई छ । ‘विपक्षी दलका नेतासँगको भेटले सरकार करेक्सन भएर काम गर्न दबाब बढ्छ, नत्र विकल्पको समेत खोजी गर्न सक्ने अवस्था रहन्छ’, उनले भने‘ सरकार परिवर्तनको विकल्पका सन्दर्भमा अंक गणितमा नपुगेपनि दबाब अवश्य बढ्छ ।’
बिहीबार भएको प्रचण्ड र कोइरालाबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुई नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको र सरकारले विकृति फैलाउने काम गरेको भन्दै चिन्ता जाहेर भएको प्रचण्डको सचिवालयले जनाएको छ । ‘सरकारले एक वर्षमा विकृति घटाउनेभन्दा बढाउने काम गर्यो भन्ने साझा बुझाइ दुई नेताका बीचमा रह्यो’, प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने ‘दुईतिहाइको सरकार सामान्य प्रशासन सञ्चालन गर्न आएको सरकार जतिको पनि नभएको निष्कर्षसहित नेताहरू बाहिरिनुभयो ।’
सरकारले गर्ने नियुक्तिदेखि निर्णयसम्म गलत तरिकाले गर्दै आएको विषयमा समेत नेताहरूबीच कुराकानी भएको नेता शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । ‘सेवोनमा भएको नियुक्ति देखियो, अन्य ठाउँमा पनि कतै पनि मेरिटमा नियुक्ति हुन सकेको छैन’, थपलियाले भने ‘सरकारका निर्णयहरू भूमि विधेयकदेखि धेरै विषयमा समस्या छ । यस विषयमा आ–आफ्नो ठाउँमा रहेर आवाज उठाउँदै जाने दुवै नेताहरूबीच समझदारी बनेको छ ।’
नेता प्रचण्ड र कोइरालाबीच यस्तो समझदारी भएको अवस्थामा आगामी संसद्मा सरकालाई थप चूनौती थपिएको छ । कांग्रेसभित्र पनि यसले दबाब बढाउने हुँदा सभापति देउवाले सरकारको विकल्पकाबारे समेत सोच्न सक्ने अवस्था रहने राजनीतिक बृत्तमा नयाँ बहस सुरू भएको छ ।