काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराएका हुन् । उनकाअनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो । अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६/६ वटा राख्न सकिने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको बताउँदै पार्किङको पनि क्षमता बढेको बताए । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको उनको भनाइ छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको पनि जानकारी दिए ।
उनले भने, ‘इन्टरनेशनल पार्किङ एप्रोन जुन छ, त्यसमा न्यारोबडी राख्नुभयो भने १८ वटा, वाइडबडी र न्यारोबडी गरेर राख्नुभयो भने ६ वटा वाइडबडी, ६ वटा न्यारोबडी राख्न सकिन्छ । अहिलेसम्म हामी न्यारोबडी र वाइडबडी गरेर ११ वटा मात्रै राख्न सक्छौँ । अब २९ वटा जहाज यहाँ पार्किङ गर्नसक्छौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको छ । पार्किङको पनि क्षमता बढेको छ । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको छ ।’
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले त्रिभुवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ । विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ ।