काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन् ।
बिहीबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरु बनाइरहेको पनि बताएका हुन् । मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि समेत रणनीति बनाएर कार्यान्वयन गरिने उनको भनाइ छ । उनले विपद् व्यवस्थापन प्राधिकरणलाई प्रभावकारी बनाएर विपद्जन्य घटनाको व्यवस्थापन र जोखिम नियन्त्रण गर्नुपर्ने बताए।
उनले भने, ‘विपद्मा परेर सुक्खा र खडेरी परेको मधेशको जनतालाई हामीले कसरी राहत उपलब्ध गराउने र त्यसको दीर्घकालिन समाधानका लागि के गर्ने भनेर योजना बनाउने र अहिले तत्काललाई खानेपानीको समस्या र सिंचाईको समस्या हल गर्ने कुरामा सरकार गम्भीर छ । मानवीय कारणले भएका समस्याहरु कसरी हल गर्ने भनेर पनि हामीले योजना बनाउँछौं ।’
विपद् तथा अतिवृष्टि र अनावृष्टिको समस्या समाधान गर्न राज्य बलियो हुन जरुरी रहेको पनि बताए ।