काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने बताए ।
उनले सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्वपूर्ण रहेको बताए । उनले विधेयकमा रहेको विषयवस्तुहरु आधारभूतरुपमा नै गलत रहेको बताए ।
विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताउँदै उनले सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महसुस भएको बताए ।
महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताए । उनले सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको बताए ।