२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

दुई धारमा पुग्यो एनसीसी कतार

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन ८ गते २१:२३
दुई धारमा पुग्यो एनसीसी कतार

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतार स्पष्ट रूपमा दुई धारमा विभाजित देखिएको छ । दुई वर्षअघि अध्यक्ष रमेश भट्टको नेतृत्वमा निर्वाचित कार्यसमितिले उल्लेखनीय कार्यसम्पादन गर्दै अगाडि बढिरहेका बेला कार्यकालको अन्त्यमा आएर संस्था भित्रको असमझदारी सतहमा आएको छ ।

अध्यक्ष भट्टले तेस्रो परिषद् (अन्तिम) भेला सम्पन्न गर्दै कार्यकालको सुखद अवतरण गर्न चाहेको बताउँछन् । तर उक्त भेला जुलाई मसान्तभित्र सम्पन्न गर्नुपर्ने अवस्था रहे पनि मिति सार्नु परेपछि एनसीसीभित्रको असहजता झन् प्रस्ट भएको उनी बताउँछन् । एनआरएनएको केन्द्रीय नेतृत्वमै गुट, फुट र अदालतमा विचाराधीन मुद्दाहरूले सिर्जना गरेको अन्योलले कतार मात्र नभई विश्वभरका एनसीसीलाई असर पारेको अध्यक्ष भट्टको भनाइ छ ।

भट्ट नेतृत्वको कार्यसमितिले मे २३ मा तेस्रो परिषद् सम्पन्न गर्न खोजेको थियो । तर केन्द्रमा रहेका दुई आइसिसीमध्ये कुन मापदण्डलाई आधार बनाएर सदस्यता खुला गर्ने भन्ने अन्योल कायमै रहेकाले कार्यक्रम स्थगन गरी जुन २७ भित्र सम्पन्न गर्ने निर्णय गरिएको थियो ।

महासचिव रबिन मगरका अनुसार, एनसीसी कतारले कुनै पनि आइसिसीको पक्षमा उभिन नचाहेको, शेष घलेको नेतृत्वमा सम्पन्न एकता महाधिवेशनमा पनि स्वतन्त्र रूपमा सहभागिता जनाउनेलाई नरोकेको, तथा जुनसुकै समूहमा लागे पनि सदस्यता वापत केन्द्रलाई पठाउनु पर्ने ३ अमेरिकी डलर समेत नपठाउने निर्णय सर्वसम्मत रूपमा गरिएको हो । महासचिव मगर भन्छन्, “हामीले स्वतन्त्र पोर्टलमार्फत सदस्यता आव्हान गर्ने, जो-जहाँबाट आए पनि स्वागत गर्ने निर्णय गरिसकेका छौं ।”

भट्ट र मगर एकता महाधिवेशनमा सहभागी भएपछि बद्री केसी समूह असन्तुष्ट बनेको बताइन्छ । तर प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीका अनुसार एनसीसी कतार सुरुवातदेखि नै स्वतन्त्र रही श्रमिक हितमा काम गर्दै आएको र नेपालस्थित आइसिसीहरूसँग कुनै औपचारिक सहकार्य नगरेको बताउँछन् । “हामी केन्द्रमा एकता नभएसम्म स्वतन्त्र बस्छौं,” पन्थीको भनाइ छ ।

जुन २७ सम्म भेला गर्न सहमतिका प्रयास असफल भएपछि एनसीसी कतारले जुन २५ मा सूचना जारी गर्दै जुलाई ४ मा भर्चुअलरूपमा अन्तिम परिषद् भेला गर्ने घोषणा गर्‍यो । तर सो मिति सार्वजनिक भएको ५ दिनपछि — जुन ३० मा — बद्री केसी समूहले रमेश भट्ट नेतृत्वको एनसीसी कतारको मान्यता खारेज गर्दै द्वितीय उपाध्यक्ष केशव कार्कीलाई ११औं अधिवेशन संयोजकको जिम्मेवारी दिएको पत्र पठायो ।

त्यसैदिन बेलुका एनसीसी कतारले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयको खण्डन गर्‍यो । विज्ञप्तिमा भनिएको थियो, “आइसिसीमा विवाद रहँदा सम्म हामी आफ्नै पोर्टलमार्फत सदस्यता वितरण गर्छौं । कतारको नेपाली समाजलाई विभाजित गर्नु खेदजनक छ ।”

भट्ट समूहले भर्चुअल भेला सम्पन्न गर्दै आफ्नै पोर्टलबाट सदस्यता आव्हान सुरु गर्यो भने कार्की समूहले MIS प्रणालीमार्फत सदस्यता लिन थाले । कार्कीले अगस्त १ मा अधिवेशन गर्ने घोषणा गरे भने भट्ट समूहले जुलाई २५ मा ११औं अधिवेशन गर्ने निर्णय गर्‍यो ।

बढ्दो ध्रुवीकरणका बीच कतारस्थित नेपाली पत्रकार महासंघ, महिला समाज, जनजाति महासंघ, प्रदेश परिषद्हरू, दलित सञ्जाल लगायतका संस्थाले जुलाई ८ मा दुबै पक्षलाई छलफलमा बोलाए । मुन्ताजास्थित गोरखाली रेस्टुरेन्टमा मध्यरातसम्म छलफल चल्दा पनि सहमति नजुटेको जानकारी प्राप्त भएको छ ।

छलफलमा भट्ट समूह ३ डलर नपठाउने अडानमा अडिग देखियो भने कार्की समूहले नेतृत्व पाउनुपर्ने र सदस्यतासँगै ३ डलर पनि पठाइनुपर्ने दाबी गर्‍यो । कार्कीले प्रस्ताव गरे, “३ डलर पठाउन नसक्ने हो भने सदा नपठाउने निर्णय गरौँ ।” तर सहमति बन्न सकेन । यद्यपि दुवै पक्षले आइसिसीलाई अधिवेशन स्थगन गर्न पत्र लेख्ने सहमति जनाए । उक्त पत्र तयार पार्न शनि कुमार ओली, चानक पोखरेल र विमल सुबेदीलाई जिम्मेवारी दिइयो ।

पत्रको प्रतिक्रियामा महेश श्रेष्ठ नेतृत्वको आइसिसीले समाज मिलाउने सुझावसहित पत्र पठायो भने बद्री केसी नेतृत्वको आइसिसीले भने तोकिएको मितिमा अधिवेशन गर्न निर्देशनमूलक पत्र पठाएको मध्यान्हले जनाएको छ ।

एकता सम्भव नभएपछि भट्ट समूहले शुक्रवार ग्लोबल एनआरएनए एनसीसीसँग मिलेर राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ । उम्मेद्वारहरूको प्रारम्भिक नामावली पनि सार्वजनिक भइसकेको छ ।

कतारमा सक्रिय सामाजिक अभियन्ता र संस्थाहरूको पहल जारी रहे पनि एनसीसी कतारमा देखिएको विभाजन गहिरिँदै गएको छ । एकता सम्भव नहुँदा एनसीसी कतार आगामी दिनहरूमा अझ विवादग्रस्त बन्ने अनुमान गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise