काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । बोलपत्र सिंगल स्टेज टु इन्भेलोप प्रणालीबाट हुनेछ । प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा युएस डलर १४६, युरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ । बोलपत्र दस्ताबेज खरिद गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्ने छ ।
बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ । बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।