२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

मधेश प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने

Nada
२०८२ साउन ९ गते १६:०७
Shares
मधेश प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने

जलेश्वर : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको संकट झेलिरहेको मधेश प्रदेशमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताए ।  

हवाई उडानमार्फत यहाँ आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उनले मधेश प्रदेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सम्बोधनका क्रममा उनले मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको चर्चा गर्दै बाँकी सातवटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताए । 

प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे । 

यसैगरी, प्रधानमन्त्री ओलीले शिक्षाविना चेतना र विकास असम्भव हुने प्रसंग उल्लेख गर्दै भने, “जहाँ शिक्षा छ त्यहाँ चेतनासहितको विकास छ, जहाँ शिक्षा छैन त्यहाँ गरिबी र अभाव छ । आफ्ना छोराछोरीलाई भेदभाव नगरिकन विद्यालय पठाउन स्थानीय बासिन्दासमक्ष अनुरोध छ ।”

उनले गरिबी निवारणसहित परिवार, समाज र देश विकासमा शिक्षा आवश्यक रहेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकता दिन पनि अनुरोध गरे । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर