काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन सरकार २०८४ को निर्वाचनसम्मै जाने बताएका छन् । शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको अगुवाइमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताए । अहिलेको सरकारले विकासको अठोट लिएको र अब एक वर्षमा आफूले प्रधानमन्त्री रहँदा धेरै विकास निर्माणका कामहरु गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार हो । जसमा लोसपा पनि सरकार छ, जसमा जनमत पनि सरकारमा छ । अरु पनि सरकारमा छन् । यो संयुक्त सरकार हो । सबै पार्टीको । जसको नेतृत्व नेकपा एमाले र नेपाली काँग्रेसले गरेको छ । यो समीकरण देश विकासको अठोट लिएको छ । मैले प्रधानमन्त्रीको हैसियतमा अरु एक वर्ष काम गर्नेछु । यो एक वर्षमा थुप्रै कुराहरुमा परिवर्तन ल्याउने अठोट लिएको छु । चुनावसम्म हामी विकास निर्माणमा अघि बढ्नेछौँ ।’
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकार विकास निर्माणका काममा अघि बढ्ने बताए ।