२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

‘नेपाल–भारतबीच सुपुर्दगी, कोशी र नागरिकताको विषय राष्ट्रियताकै संकट हो’

shivam cement
लेखनाथ सिकारु
२०८२ साउन १० गते २१:२९
‘नेपाल–भारतबीच सुपुर्दगी, कोशी र नागरिकताको विषय राष्ट्रियताकै संकट हो’

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको राष्ट्रिय हितविपरित सरकारले तीनवटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

पुष्पलालको जन्मजयन्तीका अवसरमा शनिबार लोककृष्ण भट्टराईद्वारा लिखित निर्वासन पुस्तक  विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपाल र भारतबीच हुन लागेको भनिएको सुपुर्दगी सन्धी,कोशी उच्च बाँध र नागरिकता विधेयकबारे प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

उनले यो सन्धि गर्दा नेपालले भारत र चीनसँग सन्तुलन कायम गर्न नसके राष्ट्रियतामाथि हमला हुने बताउँदै यसबारे सरकारसँग जबाफ मागेका हुन् ।

उनले भने, ‘मैले सुने अनुसार नेपाल र भारतबीच सुपुर्दगी सन्धिको तयारी भइरहेको छ। यदि यो सन्धिमा नेपालले भारत र चीनसँग सन्तुलन मिलाउन सकेन भने हाम्रो राष्ट्रियतामाथि ठूलो आघात पुग्नेछ ।’

पूर्वप्रधानमन्त्री खनालले यो कुरा आफूभन्दा अगाडी नै बोलेर हिंडिसकेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाउन चाहेको बताए ।

प्रतिपक्षी दलको नेताको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सतर्क गराउँदै पूर्वप्रधानमन्त्री समेत रेहका खनालले यस्ता विषयमा ध्यान दिन र सरकारलाई झकझक्याउन आग्रह गरेका छन् । 

उनको अनुपस्थितिमा खनालले सञ्चारमाध्यममार्फत यो सन्देश प्रतिपक्षी दलका नेतालाई पुगोस् भन्ने आग्रह गरे ।

यसैगरी, कोशी उच्च बाँध निर्माणको विषय पनि उठिरहेको उल्लेख गर्दै खनालले यस्ता विषयमा नेपाली जनता र राजनीतिक दलका नेताहरूलाई पूर्ण जानकारी हुनुपर्ने बताए ।

‘कोशी उच्च बाँधको कुरा कसरी अगाडि बढिरहेको छ, नेपाली जनताले थाहा पाउनुपर्छ । यो नेपालको राष्ट्रिय हितमा छ कि छैन, त्यो बुझ्न आवश्यक छ,’ उनले भने । यसअघि भएका कोशी, गण्डक र टनकपुर सम्झौता कुनै पनि नेपालको हितका लागि नभएको जिकिर गर्दै यो सम्झौता पनि कसरी हुँदैछ भन्ने विषयमा सतर्क रहनुपर्ने खनालले बताएका छन् ।

‘उत्तरतर्फबाट नेपालमा प्रवेश गरेर लामो समयदेखि बसोवास गरेका करिब ४० हजार मानिसहरू नागरिकता उद्देश्य छ भन्ने सुनिरहेको छु । नेपालका देशभक्तहरूले यो कुरालाई पनि ध्यानमा राख्नुपर्‍यो,’ खनालले भने ।

‘कम्युनिस्ट आन्दोलन विभाजित र विखण्डित भएको हुनाले हाम्रो देशको समग्र स्थिति संकटपूर्ण छ । राजनीतिक संकट बढिरहेको छ । सामाजिक सांस्कृतिक संकट पनि बढिरहेको छ,’ उनले भने ।

तर, यी विषयमा सरकारले केही काम गर्न नसकेको उनको आरोप छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर हात्तीजस्तै सरकार बनाए पनि कमिलाले जति पनि काम गर्न नसकेको खनालले आरोप लगाए ।

‘देशमा दुईवटा हात्तीजस्तै पार्टीको सरकार छ । तर यसले राष्ट्रिय हितमा कमिलो पनि मार्न सकेन । यो सरकारले जे जस्ता यस्ता काम गर्न खोजेको छ, यसमा आम जनताले सतर्कता लिनुपर्ने र खबरदारी गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

ADV

सम्बन्धित खबर

Advertise