२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिमलताल घटना : बेपत्ता बस खोज्न भारतीय सहयोग मागियो

ADV
शिव विक
२०८१ साउन १ गते ०६:५५
सिमलताल घटना : बेपत्ता बस खोज्न भारतीय सहयोग मागियो

काठमाडौं : नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै खसेको दुई वटा बस खोज्न भारतीय सहयोग माग गरिएको छ । नेपालको विज्ञ टोली र उपकरणले मात्रै सम्भव नभएपछि सरकारले भारतसँग बस खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले बेपत्ता बसको खोजी गर्न भारतबाट विज्ञसहतिको उद्धार टोली माग गरेको छ । महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार सोमबार भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।

सिमलतालमा पहिरोको लेदोसहित त्रिशुली नदीमा बस बगेर घटना भएको चार दिन बितिसक्दासम्म बगेका बसको अवस्था थाहा लाग्न सकेको छैन । नेपालको विज्ञ टोली र उपकरणले मात्रै सम्भव नभएपछि अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको हो ।

गृह मन्त्रालयका अनुसार उक्त क्षेत्रमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी गरिएको छ । 

असार २८ गते शुक्रवार बिहान ३ बजेको समयमा वीरगञ्जबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरासँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए । ६२ जना बेपत्ता भएकामा १४ जनाको शव फेला परेको छ । ४८ जना यात्रु अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिए । सुस्ता ४ मा एउटा, भरतपुर सिसुवारमा एउटा र मध्यविन्दु भुताहामा एउटा शव फेला परे । 

सोमबार मात्रै गृमन्त्रालयले सिमलताल घटनाको अध्ययन गर्न कार्यदल बनाएको छ । उक्त कार्यदललाई १० दिनको समय दिइएको छ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले कार्यदल गठनको निर्णय लिएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise