२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सरकारी घिन्ताङघिसीसँगै भक्तपुरको गाईजात्रा सुरु

Nada
२०८२ साउन २४ गते १६:३९
Shares
सरकारी घिन्ताङघिसीसँगै भक्तपुरको गाईजात्रा सुरु

भक्तपुर :  गाईजात्रा सुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट सो नाच धूमधामले मनाइन्छ । भक्तपुरमा भने जनै पूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा सुरु भएको मानिन्छ ।

ncell

वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा सुरु भएको जनाउ दिन गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी दरबारस्क्वायरस्थित बहटोलबाट घिन्ताङघिसी नाच निकालेको हो । 

भक्तपुरको बहटोलबाट सुरु भएको नाच भक्तपुर नगरका दरबारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सुजमारी, तचपाल, गोमारी, सुकुलढोका, तमारी, नासमना, बंशगोल, इटाछें र खःमालगायत क्षेत्रको परिक्रमा गरी पुनःसुकुलढोकामा पुगेर समापन भएको हो ।

धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लट्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ । कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाचसँगै विभिन्न व्यङ्ग्यात्मक नाटक, विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । 

सम्बन्धित खबर