काभ्रेपलाञ्चोक : पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो ।
उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित एक सय ७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ । ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडाबाट स्कुलसम्मका बस्ती अब सुरक्षित र खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो ।
कुल रु ८३ लाख ४८ हजारको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी ९नेवा०बाट रु ४२ लाख ४१ हजार ७००, पनौती नगरपालिकाबाट रु १६ लाख ९१ हजार ४०० र उपभोक्ताको श्रमदानबाट रु २४ लाख १४ हजार ८०० खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
यसअघि गत हप्ता पनौती नपा–११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरी एक सय ९५ परिवारलाई पुन: खानेपानी उपलब्ध गराइएको थियो । बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिष्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुन: खानेपानी उपलब्ध गराइएको हो ।
बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुन: ‘एक घर–एक धारा’ कार्यक्रममा जोडिएका हुन् । विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो ।