गौर : रकम अभाव भएपछि प्रादेशिक अस्पताल गौरले बिरामीहरूलाई दिँदै आएको खाना बन्द गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले आफ्नो सामाजिक सञ्जालमार्फत रकम अभावका कारण अस्पतालमा भर्ना हुने बिरामीहरूले पाउँदै आएको खाना लगायतका सुविधा बन्द गर्न लागिएको जानकारी दिएका छन् ।
‘मधेश प्रदेशको अर्थमन्त्रीज्यू र रौतहट जिल्लाकै मन्त्री हुनुको कारण प्रादेशिक अस्पताल गौरमा खाद्यान्नका लागि आउने पैसा रोकेको कारण बिरामीहरूले खाँदै आएको खाना, दूध, अण्डा, बिस्कुट अब २०८२ साउन २५ गतेदेखि बन्द हुँदैछ भन्ने सम्पूर्ण रौतहटवासीहरूलाई ठूलो दुःखका साथ जानकारी दिन चाहन्छु । २०८१/८२ को बाँकी रकम ३२ लाख जति तिर्नुछ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
अस्पतालका लेखापाल जितेन्द्र यादवका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा खानाको ठेक्का पाएका गुप्ता सप्लायर्सलाई ३१ लाख ६७ हजार रुपैयाँ बाँकी रहेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै अध्यक्ष हास्मीले प्रदेश सरकारप्रति आरोप लगाएका छन् ।
उनका अनुसार, प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त हुने बजेट कटौती भएको बेला अस्पतालले यो अप्रिय निर्णय लिनुपरेको हो ।
गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा दौडधुप गरेर बक्यौता रकम निकासा गर्न माग गरिएको भए पनि अर्थ मन्त्रालयको उदासीनताका कारण रकम निकासा हुन सकेन ।
रकम निकासा प्रक्रियामा ढिलाइ
गत आर्थिक वर्ष २०८१/८२ मा बिरामीको खानाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर बिरामीको संख्या बढेसँगै रकम अभाव देखियो । खानाको ठेक्का पाएका सप्लायर्सको बक्यौता रकम बढ्दै गएपछि २०८१ जेठमा गौर अस्पताल प्रशासनले थप रकम विनियोजनको लागि मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयसँग प्रक्रिया सुरु गरेको थियो ।
अस्पतालले २०८२ जेठ २ गते चलानी नम्बर २२९२ मार्फत थप ३४ लाख रुपैयाँ पठाइदिन माग गरेको थियो । सो मागको आधारमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई टिप्पणीसहित रकम निकासा गर्न पत्राचार गरेको थियो। उक्त पत्र अर्थ मन्त्रालयमा २०८२ जेठ १३ गते दर्ता भए पनि, अर्थमन्त्रीको तजबिजमा रकम निकासा हुन सकेन ।
अध्यक्ष हास्मीले भने, ‘अर्थमन्त्रीज्यूले सधैं दुई–तीन दिनभित्रै निकासा हुने बताउँदै आए, तर अन्तिममा आफ्नो फोन उठाउनै बन्द गरे। आफ्नै गृह जिल्लाको अस्पतालमा बिरामीले पाउँदै आएको खाना बन्द हुने अवस्थामा पनि अर्थमन्त्रीको गम्भीरता देखिएन ।’
हाल नेपाली कांग्रेसतर्फबाट सुनिक कुमार यादव मधेश प्रदेशका अर्थमन्त्री रहेका छन् । उनी रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस विषयमा बुझ्दा मधेश प्रदेश अर्थ मन्त्रालयका प्रवक्ता उपेन्द्र न्यौपानेले आफूलाई स्पष्ट कारण थाहा नभएको बताए । उनले विनियोजित बजेटको सिलिङ भन्दा धेरै खर्च भएकोले रकम निकासा हुन नसकेको आशंका व्यक्त गरे ।
राजनीतिक दलको आन्दोलनको चेतावनी
अस्पतालमा बिरामीले पाउँदै आएको सेवा बन्द हुने खबर सार्वजनिक भएपछि रौतहटका विभिन्न राजनीतिक दलहरूले आन्दोलनको चेतावनी दिएका छन् ।
नेकपा (एस)का नेता रेवन्त झाले प्रदेश सरकारले सामान्य दायित्व समेत पूरा गर्न नसकेको आरोप लगाए । उनले समस्याको अविलम्ब समाधान नभए अस्पतालको आपतकालीन बाहेक सबै सेवा बन्द गर्न र यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने सुझाव दिए ।