अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकालाई वडा नम्बर १० का वडाअध्यक्ष तथा बालगृह सञ्चालकका छोरा कुस्माकर चनाराले बलात्कार गरेको आरोप लागेको छ ।
रवि नामले चिनिने कुस्माकर चनाराले आफूमाथि पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाले जनाएकी छन् । उनले मध्यान्हसँग भनिन्, 'बाहिर कतै हल्ला फिजाएमा,अरु साथिभाइसँग भनेमा तँलाई मार्छु भन्दै ममाथि निरन्तर बलात्कार भयो ।'
आठबीसकोट नगर अस्पतालमा गरिएको गर्भपरीक्षणको स्वास्थ्य रिपोर्टमा ती पीडित बालिकाको पेटमा साढे २ महिनाको गर्भ रहेको खुलेको छ । न्यायिक समितिमा उजुरी दिएपछि पीडित बालिकाले भदौ १९ गते गर्भ परीक्षण गरेकी हुन् । उनले भदौ २० गते नगरपालिकाको न्यायिक समितीमा उजुरी दिएकी थिइन् । त्यस लगत्तै नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले दोषीलाई कानून बमोजिमको कारबाही गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेका थिए । प्रशासनले आइतबार नै प्रहरीलाई अनुसन्धान अगाडि बढाउन पत्राचार गरिसकेको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रशुराम चौधरीका अनुसार बाल गृह सञ्चालक सुनिता चनारा र वडाअध्यक्ष गंगाराम चनारालाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ । पीडित बालिकाको जाहेरीपछि आरोपी कुस्माकरको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
आठबीसकोट नगरपालिका- ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी ती बालिकाले बालगृह सञ्चालकका छोराले आफूलाई बलात्कार गरेको, वडा अध्यक्ष गंगराम चनाराले यौन शोषण र उनकी श्रीमती सुनिता चनाराले शारीरिक यातना र श्रम शोषण गर्दै आएको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।
जिल्लाको आठबिसकोट नगरपालिका -११ मा सञ्चालित सिस्ने हिमाल बालगृहमा २०७४ सालमा भर्ना गरिएकी ती बालिका दुई वर्षदेखि निरन्तर बलात्कारको शिकार बन्दै आएको उजुरीमा उल्लेख छ ।
पीडित बालिकाले दिएको जाहेरीमा २०७७ साल चैतको अन्तिममा लकडाउनको समयमा बालगृह सञ्चालिका सुनिता चनाराले आफ्नो घरमा लिएर घरायसी कामकाजमा लगाउने गरेकी थिइन् । गत भदौ १७ गते आफू एक्लै कोठामा पढिरहेको मौका छोपी वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर यौन शोषण गरेको पीडित बालिकाले बताएकी छन् ।
'जनप्रतिनिधिको घरभित्रसमेत बालिका सुरक्षित नहुनु दु:खको कुरा हो,' स्थानीय तेजेन्द्र बटालाले मध्यान्हसँग भने, 'यो घटनाको मुख्य योजनाकार वडाअध्यक्ष हुन् । उनको मिलेमतोमा नै बालिका बलात्कारको शिकार बनेकी हुन् । बालगृह जस्तो पवित्र ठाउँमा संरक्षक मानिनेबाटै बलात्कार हुनुले जनप्रतिनिधिको नियतमाथि नै प्रश्न उठेको छ । बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने यस्ता बालगृह तत्काल बन्द गर्नुपर्छ ।'
अनाथ, असहाय बालबालिकाका लागि सञ्चालनमा ल्याइएको बालगृहमा बलात्कार, यौनशोषण, शारीरिक यातना दिने जस्ता जघन्य अपराधका कार्य भैरहेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies