काठमाडौंः नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गरेका छन् ।
राष्ट्रिय सभाको सोमवारको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पती उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताए । उनले नागरिकताको दुरुपयोग बढ्नसक्नेतर्फ संकेत गर्दै वंशजको नागरिकतालाई लचिलो बनाउन नहुने बताए ।
उनले भने, ‘अहिले ब्रिटिस गोर्खाका छोराछोरीहरु त्यँही पढिरहेका छन् । उनीहरुले उतैको परिचय प्रमाणपत्र लिएका पनि छन् । पछि उनीहरुको आमाबुबा मरेपछि नागरिकता नभएको अवस्थामा नेपालमा रहेको सम्पती खान पाउने अवस्था रहदैन । यो विषयमा गम्भीर रुपमा सोच्नुपर्छ । यो स्वघोषणाको विषयमा पनि समस्या आउन सक्छ । वंशजको नागरिकतामा सरकार लचिलो हुनुहुदैन । तर अंगीकृत नागरिकताका सम्बन्धमा बरु लचिलो हुनसक्छ । यो महिलालाई अफ्ठ्यारो पार्नेगरी कानून आउँदैछ । यसमा सचेत हुन जरुरी छ ।’
उनले लैङ्गिक समावेशीकरणको आधारमा नागरिकतासम्बन्धी विधेयक ल्याउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।