२०८२ साउन २६ गते सोमवार / Aug 11 , 2025 , Monday
२०८२ साउन २६ गते सोमवार
Ads

कोशी प्रदेश सभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

shivam cement
मध्यान्ह
२०८२ साउन २६ गते १५:४३
कोशी प्रदेश सभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले स्वीकृत भएको थियो ।

विधेयकको सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले भाषा आयोगको सिफारिसको हैसियतमाथि प्रश्न गर्दै भने, “भाषा आयोगले सिफारिस गरेको भाषालाई कार्यान्वयनमा ल्याउन सरकारलाई बाध्यकारी बनाउन सक्दैनन् ।”

उनले आफ्नो कार्यकालमा चुनावी आचारसंहिताले गर्दा विधेयक बनाउन र पद सिर्जना गर्न नहुने कारणले यो विधेयक आउन सकेनन् भन्दै विधेयकलाई राम्रो बनाउन सबैको सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

पूर्वमुख्यमन्त्री राईले भाषा राष्ट्रको सम्पत्ति एवं पुँजी भएकाले यसलाई बोझका रुपमा लिन नहुने भन्दै भाषा ज्ञान र सभ्यतासँग जोडिएकाले यसको संरक्षण संवर्धन गर्न जरुरी रहेको बताए । सैद्धान्तिक छलफलमा आजै थप नौ जना सांसदले बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिए ।

बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य बाबुराम गौतमले नेपालको आर्थिक अवस्थालाई बलियो बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।

बैठकको शून्य समयमा कोशी प्रदेश सभा सदस्य नारायणबहादुर मगर, मीना श्रेष्ठ र किशोरचन्द्र दुलालले प्रदेशको समसामयिक विषयमा बोलेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise