दोहा, कतार : कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले रमाइलो तिज कार्यक्रम आयोजना गर्ने भएको छ । विगत ३ वर्षदेखि हरितालिका तिजको अवसर पारेर रमाइलो तिज कार्यक्रम आयोजना गर्दै आइरहेको मोनाले यस पटक पनि म्याग्देली भेला, सम्मान तथा चौथो रमाइलो तिज कार्यक्रम–२०२५ आयोजना गर्ने भएको हो ।
आगामी शुक्रवार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेबाट हुने कार्यक्रममा कतारमा रहेकी म्याग्देली थाली नृत्याङ्गना यमुना पटेल, अजु सेवक, दिपा खाती, लोक तथा दोहोरी गायिका रेश्मी सेन्चुरी र तारा बिसीलगायतका अन्य कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । कतारमा रहेका विशेषगरी चेलीबेटीहरूलाई समेटेर कार्यक्रमको आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले बताए ।
उक्त कार्यक्रमको अवसर पारेर मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आजीवन र संरक्षक सदस्यता प्रमाण पत्र हस्तान्तरण गरी बताउँदै अक्षयकोषमा आबद्ध भई अक्षयकोषसँगै हातेमालो गरी सामाजिक कार्यमा पाइला बढाउन कोषका अध्यक्ष विक्रम कार्कीले अनुरोध गरेका छन् । निःशुल्क प्रवेश रहेको कार्यक्रम मोना कतार, अक्षयकोष र महिला विभागको आयोजना तथा मोना कतार मातहतको सांस्कृतिक विभाग र खेलकुद विभागको सह आयोजनमा चेलीबेटीहरूको सम्मानार्थ आयोजना गर्न लागिएको मोना कतारले जनाएको छ ।