काठमाडौं : मानिसले जस्तै मुसाले पनि एकअर्काको आवाज सुन्ने र त्यसको जवाफ गीतमार्फत फर्काउने क्षमता राख्ने तथ्य शोधकर्ताहरूले पत्ता लगाएका छन् । अध्ययनअनुसार, मुसाले एकअर्काको आवाज पहिचान गर्ने मात्र होइन, त्यसको प्रत्युत्तरमा गायन आदानप्रदान पनि गर्छन्, जसलाई मानिसको संज्ञानात्मक क्षमतासँग मिल्दोजुल्दो मानिन्छ । तर मुसाले गाएको यस्तो गीत मानिसले सामान्य रूपमा सुन्न सक्दैनन् । यसका लागि विशेष प्रकारको उपकरण आवश्यक पर्छ ।
यही विषयमा भक्तपुरकी यमन थापा थप अनुसन्धान गरिरहेकी छिन् । उनी अमेरिकाको एक विश्वविद्यालयमा यो अध्ययनमा संलग्न छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटकी थापा बाल्यकालदेखि नै लगनशील र मेहनती थिइन् । उनले अमेरिकाको काल्डवेयल विश्वविद्यालयबाट व्याचलर्स तहमा उत्कृष्ट प्रदर्शन गर्दै टप गरिन् र सन् २०२१ को स्टुडेन्ट लिडरशीप अवार्ड पनि जितिन् ।
हाल थापा अमेरिकाको कोल्ड स्प्रिङ हार्बर ल्याब्रोटरीमा पूर्ण छात्रवृत्तिमा पीएचडी गर्दैछिन् र मुसाको गीत गाउने क्षमताबारे गहिरो अनुसन्धानमा जुटेकी छन् ।