काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा रहेको बताएका हुन् ।
उनले युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको पनि बताए । उनले उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे ।
विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्र विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको उनले बताए । उनले उद्यमशीलता आर्थिक विकासको आधार भएको बताए ।
राष्ट्रपति पौडेलले युवाको विदेश पलायन रोकेर उनीहरुलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशीलता विस्तार एवं प्रवर्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरुले आफूलाई अब्बल प्रमाणित गरिसकेको पनि उनले बताए ।
राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाली युवालाई स्वदेशमै अवसर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातारवण निर्माण र नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको उल्लेख गरे ।