सरकारले राजधानी उपत्यका सहित देशभर कोरोना विरुद्ध लगाइएको निषेधाज्ञा हटाएको छ । केही छिटफिट गतिविधि सञ्चालनमा आउन नसकेपनि सामान्यतया निषेधाज्ञा हटेको छ । राजधानी उपत्यकामा शैक्षिक क्षेत्र, बजारपसल, सिनेमा हलहरु समेत सञ्चालनमा ल्याएको छ । लामो समयदेखि रोकिएको कलेज तथा विद्यालयहरु भौतिक रुपमा सञ्चालन हुन थालेको छ । यो महिनाको अन्त्यबाट कक्षा १२ लगायतको परीक्षा समेत सञ्चालनमा ल्याउँदैछ । तर कोरोना संक्रमणको खतरा भने उत्तिकै छ । बिहीबार मात्रै कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको रिपोर्टअनुसार, नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दश हजार नौ सय नाघेको छ ।
संक्रमण दर पनि हजार भन्दा माथि नै छ । बिहीबार सार्वजनिक २४ घण्टाको रिपोर्टअनुसार, एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित संख्या सात लाख ७४ हजार पुगेको छ । उपचारत संक्रमित संख्या अहिले पनि २८ हजार भन्दा माथि छ । अर्थात् गएको माघ देखि शुरु भएको कोरोना विरुद्धको खोप लगाउने कार्य जारी रहेपनि संक्रमणको दर भने उस्तै छ । अझ तेस्रो लहरको कोरोना संक्रमणको अनुमान गरिदै आएको छ । मुलुकले पहिलो र दोस्रो लहरको संक्रमणका कारण ठूलो मानवीय क्षति मात्रै बेहोरेको छैन, मुलुक सामान्यकालमा फर्कने सजिलो देखिएको छैन । किनकि लामो समयको लकडाउन र निषेधाज्ञाका कारण कोरोना अर्थतन्त्र, सामाजिक, सांस्कृतिक, शैक्षिक क्षेत्र नराम्रोगरी प्रभावित बनेको छ ।
तर धमाधम सांस्कृतिक पर्व मनाउने थालिएको छ । केही समय अगाडि महामारी बिर्साउनेगरी गाइजात्रा पर्व मनाइएको थियो । बिहीबार तीजको रौनक उस्तै रह्यो । पशुपतिनाथ खुला नभएपनि तीज मनाउनेको भीड नै देखियो । अझ राजनीतिक गतिविधि उस्तै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस तीन महिने महाधिवेशन कार्यतालिकामा व्यस्त छ । देशभर वडा तहको अधिवेशन गरिरहेको काँग्रेसले स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै मंसिरमा दशौं महाधिवेशन गर्दैछ । अन्य दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतले राष्ट्रिय सम्मेलन गर्दैछ । अतः महामारीको खतरा टरेको जसरी सतर्कता नअपनाउनु भनेको संभावित क्षतिको आमन्त्रण समेत हो । यसतर्फ सरकार सहित सरोकारवाला निकाय सचेत हुन जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies