दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको भन्दै फलामे छड उत्पादक व्यवसायी आन्दोलित भएका छन् । नेपाल फलामे छड उत्पादक संघमा अवद्ध केही व्यवसायीहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी विरोध जनाएका हुन् ।
व्यवसायीहरुले विरोधस्वरुप फालम जन्य सामग्रीको आयात र विक्री वितरण रोकेको जानकारी दिएका छन् । बजेटमा पत्रुसँग मिसाउने स्पञ्ज आइरनको भन्सार महशुलमा शुन्य प्रतिशत भन्सार लाग्ने तर आयातित विलेटको भन्सार ४.७५ प्रतिशत लाग्ने र प्रति मेट्रिकटन १ हजार ६ सय ५० रुपैयाँ अन्तःशुल्क लगाउँदै आएकोमा बजेट मार्फत बढाएर २ हजार ५ सय रुपैयाँ पुर्याएको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । सो व्यवस्थाले उद्योगमा प्रत्यक्ष असर पर्ने भन्दै विक्री वितरण रोकिएको व्यवसायीहरुले बताए ।
बजेटमा ल्याइएको यस्तो व्यवस्थाले ६ वटा उद्योगहरु लाभान्वित हुने देखिएपनि बाँकी २४ वटा उद्योगलाई प्रत्यक्ष असर परी विस्थापित हुने स्थिति देखापरेको उनीहरुको भनाई छ । निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने व्यवसायीहरुले बताए ।
सरकारले भने आफ्नो रोलिङ प्लान्टबाट एमएस विलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था गर्दा व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने बताएको छ । तर व्यवसायीहरुले सहुलियत दिएको स्पन्ज आइरनबाट छड निर्माण गर्दा गुणस्तर कम हुने र जोखिम बढाउने बताएका छन् ।
उपभोक्ताको रोजाईमा रहेको विश्व प्रसिद्ध ५००डी ग्रेडको फलामे छडको माग भएको तर स्पञ्ज आइरनबाट फलामे छड उत्पादन गदाए ५००डी ग्रेड बराबरको गुणस्तर नहुने भएकाले प्राइम बिलेट नै आवस्यक पर्ने उनीहरुको भनाई छ । पत्रु पगालेर बनाएको छडले नेपाल जस्तो भूकम्पीय जोखिम भएको देशमा दुर्घटना निम्तने बताए ।
संघका उपाध्यक्ष किरण साःखले सरकारले ल्याएको व्यवस्थाले समग्र उद्योग क्षेत्र धारासायी हुने बताए ।
संघका सदस्य अन्जन श्रेष्ठले सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नगरी पटकपटक नीति परिवर्तन गर्दा लगानीमा अस्थिरता पैदा हुने बताए । यस्तो स्थितिले औद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।
संघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले कच्चा पदार्थमा शुन्य प्रतिशत अन्तःशुल्क हुनु भनेको विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नीति बिपरित भएको बताए ।
व्यवसायीहरुका अनुसार पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भएकोले चीनमा यस्तो प्रविधिलाई बन्देज लगाइएको र भारतमा पनि कडा निगरानीमा राखिएको छ ।
भन्सार दर र अन्तःशुल्कमा गरिएको परिवर्तनले २४ वटा उ्रद्योगहरुले विलेटबाट डण्डी उ्रत्पादन गर्दा प्रति के.जी ५ देखि ६ रुपैयाँ सम्म महँगो हुने पनि उनीहरुले बताए ।
यसैबीच नेपाल फलामे छड उत्पादक संघकै केही व्यवसायीहरुले भने सरकारले बजेट प्रतिस्थापन विधेयक मार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गनएका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने बताएको छ । संघको आधिकारीक लेटरप्याडमा विज्ञीती जारी गरी स्वदेशभित्रै बिलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पञ्ज आइसन आयातमा लगाउँदै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य भएको बताएको छ ।
‘यसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेछ’ विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मार्फत नेपाल फलामे छड उत्पादक संघको नाममा केही समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा यस संघको गम्भिर आपत्ति रहेको उ्रल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies