काठमाडौं : इजरायलका दीर्घकालीन स्याहार केन्द्रको रोजगारीका लागि वैदेशिक रोजगार विभागले सञ्चालन गरेकोे अंग्रेजी भाषा परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएका छन् । काठमाडौंमा तोकिएका सबै १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न भएको विभागले जनाएको छ । विभागले सोमबार ८० अंकको परीक्षा सञ्चालन गरेको हो ।
विभागले एक हप्ता भित्रै परीक्षाको नतिजा प्रकाशन गरेर अर्को हप्ता २० अंकभारको अन्तर्वार्ता गरी सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने बताएको छ । सम्झौता अनुसार नेपालले शुरूमा एक हजार जना दीर्घकालीन स्याहार केन्दमा पठाउने छ । त्यसका लागि योग्यता क्रममा कम्तीमा १ हजार ६ सय जना उत्तीर्ण गराउने विभागले बताउँदै आएको छ ।
विभागका सूचना अधिकारी कमल ज्ञवालीले ओएमआर विधिबाट उतरपुस्तिकाको जाँच हुने भन्दै एक दुई दिनमै नतिजा सार्वजनिक गर्न सकिने बताए । इजरायलले एक हजारमध्ये ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३०० पुरुष लैजाने बताएको छ ।
इजरायलका लागि यसपट ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९ जनाको फारम स्वीकृत भएको विभागको भनाइ छ ।
विभागले तोकेको मापदण्डअनुसार आवेदन गरेकोे तर छानविनका नाममा आवेदन नै अस्वीकृत गरिएको कतिपयको गुनासो छ भने कतिपयले तालिम केन्द्रहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, विभागका महानिर्देशक र परीक्षा सञ्चालनमा सहभागी कर्मचारीहरुको नाम जोडेर सेटिङ मिलाइसकेको र पास गराउने ग्यारेन्टी भन्दै दश लाख रूपैयाँसम्म मोलमोलाई गर्ने गरेका छन् । मध्यान्ह राष्ट्रिय दैनिकीलाई प्राप्त एउटा अडियोमा लाखौं रूपैयाँ मोलमोलाई गरिएको आवाज सुन्न सकिन्छ ।
विभागले भने इजरायल रोजगार छनोट प्रक्रिया प्रविधिमा आधारित रहेको भन्दै सेटिङका आधारमा पठाउन सकिने अवस्था नभएको दाबी गरेको छ । इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर झन्डै १ लाख ९० हजार नेपाली रुपैयाँ हुनेछ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।
यता श्रम मन्त्रालयले २०७२ जेठ २६ मा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ निर्णय विपरीत इजरायलको रोजगारीमा जाने कामदार छनोट गर्न लागिएको भन्दै सर्वोच्चमा परेको एउटा रिट विचाराधीन अवस्थामा छ ।
तस्बिर : दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies