श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रत्यके प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हरेक श्रमीकको जिम्मेवारी सरकारको भएको बताए । उनले श्रमिक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ हुने जिकिर गरे । उनले सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । सरकार अहिले श्रम ऐन र विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको पनि उनले बताए ।
उनले भने, ‘हरेक श्रमीकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमीक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ । तपाईंहरुको प्रतिष्ठानले उदाहरणीय काम गर्नुभएको छ । तपाईंहरुको प्रतिष्ठानको उदाहरण मन्त्रालयले अरु प्रतिष्ठानले पनि गर्नसक्छ भनेर उदाहरण दिनसक्छ । आगामी दिनमा हामीले धेरै कुराहरु परिवर्तन गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मान्यताहरु अघि बढाउनुपर्ने भएको छ । हामी अहिले श्रम ऐन संशोधन गर्ने प्रक्रियामा छौं, विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा छौं ।’
मन्त्री भण्डारीले श्रमिकको हितलाई मध्यनजर गरी सबैको हित हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।