काठमाडौंः नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरु निर्वाचन केन्द्रित मात्रै भएको बताएका हुन् ।
उनले राजनीतिक दलहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताए । अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरु अघि बढिरहेको उनको टिप्पणी छ ।
सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरुले पनि ०८४ का रुपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरुले पनि परिवर्तनको चक्रमा रुमपा हेरिरहेको बताए । हरेक १५—२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेको स्मरण गर्दै जनताको असन्तोष, चाहना, आकांक्षाहरु त्यसैतर्फ परिलक्षित भइरहेको बताए । नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरुको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको बताए ।
उनले भने, ‘मुख्य कुरा सबै पार्टीहरु चुनावदेखि चुनावसम्म केन्द्रित भए । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ । अहिले नेपालको राजनीतिको जो चक्र छ । त्यसमा राजनीतिक पार्टीहरुले ०८४ पनि हेरिरहेका छन् । जनताको पनि एउटा चक्र छ । परिवर्तनको एउटा चक्र छ । हरेक १०-१५-२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेका छन् । जनताको असन्तोष, चाहना, आकांक्षाहरु परिलक्षित हुने गरेका छन् । त्यसो हुनाले एकातिर संसदीय दृष्टिकोणबाट हेर्दा देखिने ०८४ र अर्को कुरा जनताको पक्षबाट, मजदुर किसानको परिप्रेक्ष्यबाट हेर्ने ०८४ फरक छ । ०८४ मा यि पार्टीहरुः जो अहिले नेपालको राजनीतिमा सक्रिय छन्, प्रभावी छन्, ति पार्टीहरुको रिलेभेन्स, औचित्यमाथि ठूलो प्रश्न पो खडा हुन्छ की भन्नेकुरा आइरहेको छ ।’
सचिव कार्कीले अहिले संसारको नेतृत्व नै पुँजीपति वर्गले गरिरहेको बताए ।