तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : परदेशिएका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित गीत 'भन साईंला' बजारमा आएको छ l बजारमा आएको छोटो समयमै गीतले चर्चा कमाउँदै गएको छ l भर्षटायल गायक तथा सर्जकको परिचय बनाएका रमेश राज भट्टराईको साईंला उनले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन् l
सामाजिक कथा बस्तु बोकेको भट्टराईको गीत ट्रेन्डिङको चौथो स्थानमा पुगेको छ । गाउँमा कृषि गरिरहेको एउटा युवाको विदेश गएर धेरै पैसा कमाउने र परिवारलाई सुखले पाल्ने सपना हुन्छ । विदेश पुगेका युवा परिवारका यादमा निकै तड्पेको हुन्छ । परिवार त्यसमाथि सँगै जीवन बिताउने प्रण गरेकी श्रीमतीसँगको दुरीले उसलाई पोलिरहेको हुन्छ । गीत अनुसार कथा बोलेको भिडियोले भावुक बनाउँछ l
यता घरमा भने छोरोले पैसा कमाएर बुहारीलाई पठाएको र उसले लुकाएको आशङ्का बुवा (सन्तोष पन्त) आमा (सङ्गम भण्डारी) ले गर्दछन् । घरमा बुहारी (लक्ष्मी बर्देवा) लाई निकै तनाव दिइरहने, आँखा तर्ने बुवाआमाको सामुन्ने एउटा हात गुमाएको छोरो (जीवन भट्टराई) विदेशबाट फर्केर टुप्लुक्क आँगनमा पुग्दा बुवाआमा छाँगाबाट खसे जस्तै हुन्छन् भने श्रीमती निःशब्द । टन्न पैसा कमाएर सुखै सुखमा राख्ने वचन पूरा नभए पनि सँगै जिउने सपना पूरा हुनु पनि ठुलो कुरा भएको र सास बाँकी छ भने गरी खान सकिन्छ भन्ने सकारात्मक ऊर्जाको कथा गीतले बोकेको छ ।
भट्टराईकै शब्द संगीतमा तयार भएको गीतमा उनलाई युवा पुस्ताकी चर्चित गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन् । हजारौँ गीतको सफल निर्देशन गरिसकेका शंकर बिसीले मनको पीडा बुझिदिने मुटु छुटेको र तडपको कथालाई मर्मस्पर्शी ढंगले पस्केका छन् l भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies