तेजबहादुर बन/मध्यान्ह
इटहरी : माग भए जति दक्ष जनशक्ति नपाउँदा देशभर बुधबारदेखि शुरू भएको १२ औं राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणमा हुँदै गरेको घर तथा घरपरिवार सूचीकरण कार्यक्रम सुनसरीमा प्रभावित बनेको छ ।
पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सूचीकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन् ।
राष्ट्रिय जनगणना २०७८ का लागि सुनसरीका तीन वटा पालिकामा १२२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तर्गत धरान उपमहानगरपालिकामा ४८ जना , इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरी १२२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जनगणनाको कार्यालय इटहरीका सहायक जनगणना अधिकारी जनक काफ्लेले मध्यान्हलाई बताए ।
उनका अनुसार खटिएका सुपरिवेक्षकहरू तोकिएको पालिकाको जनसंख्याको तुलनामा निकै न्यून हुन् । उनीहरूले पहिलो चरणमा घर घर पुगेर घर तथा घर परिवारको सूचीकरण लिने र कार्यालयमा बुझाउने छन् । भदौ ३० गतेदेखि शुरू भएको पहिलो चरणको कार्यक्रम आगामी असोज १८ गतेसम्म चल्ने सहायक जनगणना अधिकारी काफ्लेले बताए ।
त्यस्तै पहिलो चरणको कार्यक्रम सकिएलगत्तै पुनः दोस्रो चरणमा गणकहरू नियुक्ति गरी तोकिएको स्थानमा पठाउने र घर परिवारको तथ्यांक लिने बताइएको छ । यो कार्यक्रम कात्तिक २५ गतेदेखि मसिर ९ गतेसम्म रहने छ ।
राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन केन्द्रीय तथ्यांक विभागले सुनसरीको दुई शहरमा जनगणनाको कार्यालय स्थापना गरी काम शुरू गरेको छ । सुनसरीको इटहरी र इनरूवामा कार्यालय स्थापना गरी पहिलो चरणको कार्यक्रम शुरू गरिसकेको सहायक जनगणना अधिकारी काफ्लेले जानकारी दिए ।
जस अनुसार इटहरी उपमहानगरको २० वटा वडामा ४९ जना सुपरिवेक्षक खटाइएको छ भने बराहक्षेत्रको ११ वडामा २५ जना र धरान उपमहानगरमा ४८ जना सुपरिवेक्षकहरू खटाइएको छ । यो वर्ष इटहरीमा करिब ३६ हजार २१७, धरानमा ३८ हजार ८९३ र बराहक्षेत्रमा २० हजार ३४३ घर तथा घरपरिवार सूचीकरण हुने अनुमान छ ।
के के छन् चुनौती ?
१२ औं राष्ट्रिय जनगणना कार्यक्रम २०७८ सफल पार्न विभागले मातहतका कार्यालयहरूमा पत्राचार गरे पनि समयमै काम सम्पन्न हुनेमा आशंका देखिएको छ ।
बुधबारदेखि शुरू भएको पहिलो चरणको कार्यक्रममा चुनातीहरू थपिएका छन् । कम जनशक्तिले तोकिएको मितिभित्र निश्चित क्षेत्रमा रहेका घर तथा घर परिवारको सूचीकरण गरिसक्ने या नसक्ने केही भन्न सक्ने अवस्था नरहेको पाइएको छ । त्यस्तै शहरमा जनगणना शुरू भएको रेडियो तथा विभिन्न सञ्चारमाध्यमहरूबाट जानकारी भएपनि भित्रि गाउँहरूमा सूचना प्रवाह हुन नसक्दा धेरे जसो जनगणनाबारे अनभिज्ञ देखिएका छन् ।
स्थानीय मात्र नभई सुनसरीका जनप्रतिनिधिहरू पनि जनगणनाबारे अनभिज्ञ रहेको बताउँदै आएका छन् । इटहरी उपमहानगर ४ का वडाध्यक्ष चन्द्रप्रशाद भट्टराई जनगणना शुरू भएकोबारे जानकार नभएको बताउँछन् । त्यस्तै इटहरी वडा नं ९ का वडाध्यक्ष भुपेन्द्र बरालले पनि आफ्ने वडाबाट जनगणना शुरू भएपनि आफैंलाई केही जानकारी नभएको बताए ।
जनप्रतिनिधि तथा स्थानीय सरकारसँग समन्वय नै नगरी जनगणनाको काम गर्दा समयम सम्पन्न नहुने हो कि भन्ने आशंका उब्जिएको छ ।
सुपरिवेक्षकको आफ्नै गुनासो
यसैगरी सुनसरीको तीन पालिकामा खटिएका १२२ जना सुपरिवेक्षकहरू मध्ये धेरे जसोले घर घर पुगेर घर तथा घर परिवारको सूचीकरण गर्न समस्या भइरहेको बताएका छन् । इटहरीमा एउट घरमा तीन पटकसम्म जाँदा पनि सही विवरण दिन नमान्ने, कोरोना त्रास छ अहिले नआउ भनेर पठाउने, ढोकै नखोल्ने, खोलिहाले हामी केही भन्दैनौं भनेर बाहिरिने जस्ता समस्या देखिएको सुपरिवेक्षकहरूले बताएका छन् । उनीहरूले सिंगो वडामा एक्लै कुद्नुपर्ने र खटिएको ठाउँबाट सहायता नपाउने गरेको गुनासो राख्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies