पवन जयसवाल/मध्यान्ह
नेपालगञ्ज, (बाँके) : बाँकेको नेपालगञ्जमा 'बाँके जिल्लाको पत्रकारितामा कोभिड–१९ महामारीको असर' विषयक सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तरक्रियामा कोभिड–१९ महामारीको समयमा बाँके जिल्लाका सञ्चारमाध्यमहरुले सही सूचना वितरण तथा सचेतनाका लागि प्रभावकारी काम गरेको निष्कर्ष निकालिएको छ । यहाँका सञ्चारमाध्यमको बाँकेका साथै २० औं जिल्लासम्म पहुँच रहेको सो कार्यक्रममा जानकारी दिइयो ।
समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम भएको थियो । रेडियो कृष्णसार एफएमलाई सञ्चालन गर्ने संस्था समुदायका लागि सञ्चार अभियान नेपालको १३ औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन शुभारम्भको अवसर पारी नेपालगञ्जको सिद्धार्थ कटेजमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले कोरोना महामारीको कठिन परिस्थितिमा बाँकेको पत्रकारिताले अहंम् भूमिका निर्वाह गरेको धारणा राखेका थिए ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले महामारीमा सबभन्दा बढी सूचना र सचेतना फैल्याउने काम रेडियोहरुले गरेको तथ्य सार्वजनिक गरेका थिए । यो अवधिमा सर्वेक्षणहरुले नै सबैभन्दा बढी नेपालीले रेडियो सुन्ने गरेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्यायले विपदमा स्थानीय मिडियाले प्रशंसनीय कार्य गरेको भन्दै स्थानीय सञ्चारमाध्यमसँग स्थानीय सरकारहरुले नीतिगत व्यवस्था गरेर सहकार्य गर्नुपर्नेमा स्रोतको अपारदर्शी वितरण भएको बताएका थिए । नेपालगञ्ज पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा दैनिक नेपालगञ्जका सम्पादक झलक गैरेले स्थानीय मिडियाले विपदमा प्रभावकारी भूमिका खेल्दै आए पनि स्थानीय सरकार र सम्बद्धहरु सहयात्री बन्न नसकेको गुनासो गरेका थिए ।
यसरी कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोरोनाकालमा बाँकेका पत्रकारहरुका लागि स्वास्थ्य सेवा लगायतको सहजीकरणमा पहल गरिएको बताएका थिए । कोरोनाको विपदमा पनि पत्रकारहरुले ज्यानको प्रवाह नगरी सूचना सम्प्रेषणमा खटिएको पत्रकार कृष्ण अधिकारीको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, नीरज गौतम, नागरिक समाजका अगुवा तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, शिक्षाविद् किरण आचार्य, रेडियोकर्मी माधव अधिकारी, पत्रकार कमल खत्री, कमल केसी लगायतले कोरोना कालमा बाँकेको पत्रकारिताका सन्दर्भमा आ–आफ्ना विचार राखेका थिए ।
रेडियो कृष्णसार एफएम नेपालगञ्जका कार्यकारी प्रमुख तुलाराज अधिकारीले बाँंकेको पत्रकारिताले कोरोनाकालमा भोगेका समस्या र गरेका प्रयासहरुका बारेमा छलफल होस् भनेर कार्यक्रम आयोजना गरिएको बताएका थिए । सो कार्यक्रममा रेडियो कृष्णसार एफएम नेपालगञ्जका समाचार शाखाका राम प्रसाद आचार्य, प्रमोद डिजी लगायतको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies