२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‘प्रसूति गृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो’

Nada
२०८२ साउन ३१ गते १५:१४
Shares
‘प्रसूति गृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो’

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रूपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताएका छन् ।

ncell

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६ औँ वार्षिकोत्सवमा उनले प्रसूति गृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताए। उनले भने, “अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु । सरकारले हालै ल्याएको नि:सन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुन:स्थापित आइभिएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ ।”

मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा११ शय्या थप गरेर ५०० शय्या बनाइने बताए । उनले काठमाडौँका दुई नगरपालिकामा २५/२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराए । उनले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताए । 

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताए। उनले भने, “गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरंग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएका छन् ।”

उनले गत आवमा आठ हजार ६९३ जना नि:सन्तानसम्बन्धी सेवाग्राहीहरूले ओपिडीबाट सेवा लिएको बताए। कूल २९८ जना महिलाले आइयुआई सेवा र ४३ जना नि:सन्तान सेवाग्राहीहरूले आइभीएफ सेवा लिएको जानकारी गराए।  

‘नियोनेटल स्क्रिनिङ टेष्ट’ बाट हालसम्म यस अस्पतालमा करिब दुई हजार नवजात शिशुहरूको परीक्षण गरिएको र सोमध्ये २० जना नवजात शिशुहरूको विभिन्न रोगको पहिचान गरी उपचार गरिएको छ । यो टेष्टले भ्रूण तथा गर्भमा रहेको शिशुको आनुवांशिक रोगको निदान गर्न सहज भएको छ ।

यो अस्पताल विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेको हो । देशको एक मात्र महिला स्वास्थ्यसम्बन्धी यो केन्द्रीय विशिष्टीकृत अस्पताल हाल ४८९ शय्या सञ्चालनमा रहेको छ ।  

सम्बन्धित खबर