तरुणा जोशी/मध्यान्ह
बझाङ : बझाङमा आफ्नै नातीले ८० वर्षीया बजैको हत्या गरेका छन् । जिल्लाको दुर्गाथलि गाँउपालिका वडा नम्बर ५ का २१ वर्षीय सुवास जप्रेले आफ्नै बजै रिखीदेवी जप्रेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । दुर्गाथलि गाँउपालिका वडा नम्बर ५ भलानेमा बस्दै आएकी वृद्ध जप्रेलको हत्या गरेर घर आँगन नजिकै गाढेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
भदौ २७ गते आमा घरमा नदेखेपछि वडा अध्यक्षसमेत रहेका राम बहादुर जप्रेलले आमाको खोजी गरेका थिए । खोजी गर्दै जाँदा कहीँ कतै पनि पत्तो नपाएपछि भदौ ३० गते प्रहरीलाई उनले जानकारी गराएका थिए । वडा अध्यक्ष जप्रेलका २ वटा घर रहेको र एउटा घरमा वृद्ध आमा र नाती बस्दै आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले मध्यान्हलाई जानकारी दिए ।
वडा अध्यक्ष जप्रेलले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा खटिएको भन्ने बारे जानकारी पाएपछि घटनामा संग्लग्न २१ वर्षीय सुवास जप्रेल फरार भएका थिए । उनको खोजी गर्दै जाँदा उनलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाँउपालिका वडा नम्बर ७ को लोवादेब डाडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
८० वर्षीया वृद्धले नाक र कानमा लगाएको सुनको मुन्द्रासमेत नभएका कारण सुनको मुन्द्राका लागि मारेको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायव उपरीक्षक खड्कासहितको टोली अनुसन्धानमा खटिएको छ । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याइएको डिएसपी खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies