दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले चौथो रमाइलो तिज कार्यक्रम–२०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । तीन वर्षदेखि हरेक हरितालिका तिजमा आयोजना गर्दै आएको मोनाले यस वर्ष पनि म्याग्देली भेला, सम्मान र सांस्कृतिक कार्यक्रमका माध्यमबाट पर्व मनाएको हो ।
कार्यक्रम शुक्रबार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेबाट सुरु भएको थियो । मोना कतार, अक्षयकोष र महिला विभागको आयोजना तथा सांस्कृतिक र खेलकुद विभागको सहआयोजनमा सम्पन्न कार्यक्रममा म्याग्देली थाली नाचसहित तिजका गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । यामुना पटेलले कार्यक्रमको उद्घाटन गरेकी थिइन् भने अजु सेवक, दिपा खाती र सुधा परियारले पनि नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रममा गायन प्रस्तुतिका लागि रेश्मी सेन्चुरी र तारा बिसीले उपस्थित दर्शकहरूलाई नचाएका थिए । घुम्रे जुल्फि गीतमा देवी कँडेल र नृत्याङ्गना पटेल लगायतका कलाकारको गीति नाटकले मनोरञ्जन थपेको थियो । कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूलाई नगदसहित सम्मान गरिएको थियो भने कतारमा भर्खरै स्थापना भएको ब्युटी कम्पनी उजोवा र बिउटी क्लिनिकले पनि उपहार प्रदान गरेका थिए ।
खेलकुद विभागमा विशेष योगदान गरेका फिलिपिनो नागरिक जुलिएस सेगुरा कलेम र बिल बहादुर थजालीलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । साथै मोना कतारको बहुउद्देश्यीय अक्षयकोषका आजीवन र संरक्षक सदस्यता प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष बाबुराम भण्डारी र प्रमुख अतिथि मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीले संस्कृतिको संरक्षण र चेलीबेटीहरूको एकत्रिकरणका लागि मोनाले गरेको योगदानको प्रशंसा गरेका थिए । वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संयोजक टिका रोकाले कार्यक्रमको उद्देश्य र विवरण प्रस्तुत गरेकी थिइन् ।
सांगीतिक र सांस्कृतिक वातावरणमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश तथा मातहतका जिल्ला संस्था,नेपाली महिला समाज कतारका प्रतिनिधि र करिब ३ सय म्याग्देली तथा गैर म्याग्देली सहभागी भएका थिए । कार्यक्रम महासचिव शिव खड्काको सहजीकरणमा सम्पन्न भएको थियो भने समापन सभाध्यक्ष भण्डारीले गरेका थिए ।