तरुणा जोशी/मध्यान्ह
बझाङ : बझाङमा आफ्नै हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बजैको हत्या गरेको आरोपमा बिहीबार पक्राउ परेका दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
सुवास जप्रेलले भदौ २७ गते बिहान ८ देखि ९ बजेको समयमा हसिया प्रयोग गरी ८५ वर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै गाडेको अवस्थामा ३० गते नै प्रहरीले शव फेला पारेको थियो । सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लगाएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।
घटना २७ गते बिहान भएको र दिउँसो उक्त गहना बिक्री गरी फेरि बेलुकी घटनास्थलमा पुगी भित्र भएको शवलाई तानेर घर आगनकै नजिकै खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् ।
२७ गते घटना भएको भएपनि प्रहरीलाई भने खबर ३० गते मात्रै भएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका राम बहादुर जप्रेलले आमालाई २७ गतेदेखि घरमा नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरभित्र हेर्दा रगतका छिटा समेत देखेपछि उनले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । त्यती बेलासम्म हत्याका आरोपी सुवास परिवारकै सम्पर्कमा थिए । सुवास २८ गते सदरमुकाम चैनपुरसम्म पुगेर केही कपडा खरिद गरी कपालमा समेत रातो मेहन्दी लगाको खुलेको छ ।
प्रहरीको टोली घटनास्थलमा पुग्नेबारे जानकारी पाएपछि सुवास गाउँबाट ३१ गते बिहान भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लौवादेब डाँडाबाट पक्राउ गर्न प्रहरीको टोली सफल भएको जनाएको छ । प्रहरीले घटनाको विस्तृप्तरुपमा अनुसन्धान गरी रहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies